टर्कीमा पिकेकेको निशस्त्रीकरणका लागि कानूनी खाका प्रश्तुत | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

टर्कीमा पिकेकेको निशस्त्रीकरणका लागि कानूनी खाका प्रश्तुत

टर्कीको सत्ताधारी गठबन्धनले बुधवार संसदमा कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को निशस्त्रीकरणका लागि कानूनी खाकासहितको विधेयक दर्ता गरेको छ । दशकौंदेखि जारी सशस्त्र विद्रोह अन्त्य गर्ने सरकारको पहल अन्तर्गत यो एक महत्वपूर्ण कदम मानिएको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको जस्टिस एण्ड डेभलपमेन्ट पार्टी (एकेपी) र उसका सहयोगी दलहरूद्वारा प्रस्तावित यस विधेयकलाई कुर्द पक्षधर डीईएम पार्टी र अन्य विपक्षी समूहहरूले पनि समर्थन गरेको एकेपीका प्रमुख सांसद अब्दुल्लाह गुलरले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । सरकारकाअनुसार यो प्रश्तावित कानून आममाफीका लागि नभई निशस्त्रीकरण प्रक्रियालाई सहज बनाउन ल्याइएको हो । विधेयकमा हत्या वा अन्य गम्भीर हिंसात्मक अपराधमा संलग्न नभएका पिकेकेका तल्लो तहका सदस्यहरूलाई निश्चित कानुनी सर्तहरूमा उत्तरी इराक र सिरियाका लुक्ने ठाउँहरूबाट टर्की फर्कन अनुमति दिइने व्यवस्था गरिएको छ । त्यसैगरी, सशस्त्र आक्रमण वा बम विष्फोटमा प्रत्यक्ष संलग्न नभएका कैदीहरूलाई प्रश्तावित कानूनी संरचना अन्तर्गत रिहाइ वा निगरानीपूर्ण प्रोबेसनको सुविधा दिन सकिने उल्लेख छ । यद्यपि, पिकेकेका संस्थापक अब्दुल्लाह ओकलान, वरिष्ठ नेताहरू र गम्भीर प्रकृतिको जन्मकैदको सजाय भोगिरहेका कैदीहरूको हकमा भने यो कानुन लागू हुने छैन । यो मस्यौदा विधेयक पहिले संसदीय समितिबाट पारित हुनुपर्नेछ र त्यसपछि मात्र मतदानका लागि महासभामा लगिनेछ। संसदको ग्रीष्मकालीन बिदा सुरु हुनुअघि नै सांसदहरूले यस विधेयकमाथि बहस गर्ने अपेक्षा गरिएको छ । सन् १९८४ देखि टर्की राज्यविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको पिकेकेले आफ्ना नेता ओकलानको आह्वानपछि मे २०२५ मा सशस्त्र संघर्ष अन्त्य गरी निशस्त्रीकरण र विघटन हुने घोषणा गरेको थियो । विगत चार दशकदेखि जारी यस द्वन्द्वमा हालसम्म ४० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply