इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ । उक्त अवसरमा दुई नेताबीच द्विपक्षीय सहयोग सुदृढ गर्ने र क्षेत्रीय स्थिरता प्रवद्र्धन गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री अल–जैदीको सचिवालयले जनाएको छ । दुवै देशका मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको उक्त बैठक आर्थिक, राजनीतिक र सुरक्षा क्षेत्रमा आपसी सम्बन्ध विस्तार गर्न केन्द्रित थियो । भेटका क्रममा प्रधानमन्त्री अल–जैदीले इराक र लेबनानबीचको ऐतिहासिक र प्रगाढ सम्बन्धमाथि प्रकाश पार्नुभयो । उहाँले विभिन्न विकासका क्षेत्रहरूमा फलदायी आर्थिक साझेदारी निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । साथै, क्षेत्रीय चुनौतीहरूको सामना गर्न, विद्यमान तनाव कम गर्न र जारी द्वन्द्वहरू अन्त्यका लागि दुई देशबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । लेबनानी प्रधानमन्त्री सलाम एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतवार नै बग्दाद आइपुग्नुभएको हो । पछिल्लो समय अमेरिका र इरानबीच भएको हवाई हमला र लाल सागरमा यमनको हुथी विद्रोही र साउदी अरब संलग्न नयाँ मोर्चाको उदयका कारण बढेको क्षेत्रीय तनावका बीच यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड
ताजा समाचार
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन
१४ मिनेट अघि
नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना
१५ मिनेट अघि




