काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको हो । सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गर्नुभयो । आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको तर घोडाबाट लडेपछि जिउको धुलो टक्टक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले जेन–जी आन्दोलनका क्रममा आफूहरुको घरमा आगलागी हुँदा महत्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गर्नुभयो । नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिवन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविष्मरणीय रहेको बताउनु भयो । विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पु¥याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गर्नुभयो । इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पु¥याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताउनु भयो ।





