प्रहरी सेवा चुनौतीपूर्ण भएपनि नागरिक सुरक्षाको आधार होः मदनकृष्ण श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

प्रहरी सेवा चुनौतीपूर्ण भएपनि नागरिक सुरक्षाको आधार होः मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ ।
शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रहरीको भुमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको हो । प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गर्नुभयो । आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महशुस गर्ने उहाँको तर्क छ । वि.सं. २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उहाँले पराई मुलुकमा सुरक्षाको प्रत्याभुति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गर्नुभयो । सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औंल्याउनु भयो । विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उहाँको ठम्याइ छ ।

यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार