काठमाडौं ।
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताउनुभएको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताउनुभएको हो । उहाँले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै काँग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताउनु भयो । उहाँले हाल संसदमा पनि सोही अवस्था रहेको बताउनु भयो ।
संसदमा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई पछि सच्याउने गरिएको उल्लेख गर्नुभयो । नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताउनु भयो । राजनीति विगतमा व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा चल्ने गरेको उहाँको भनाई छ । उहाँले राजनितिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताउनु भयो । उहाँले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्ने उद्देश्यसहित नयाँ अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले वीपी कोईरालाको फोटो भुन्ड्याउने मात्रै नभई पार्टीलाई उहाँको आदर्श र सिद्धान्तमा चलाउने पनि बताउनु भयो ।




