डा. दीक्षित दम्पतीद्वारा टुहुरा तीन बालकलाई राहत प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. दीक्षित दम्पतीद्वारा टुहुरा तीन बालकलाई राहत प्रदान

dikshit dampati

धनवीर दाहाल,
रुकुम,११ फागुन । नागरिक समाजका अगुवा एवम् समाजसेवी डा. सुन्दरमणि दीक्षित दम्पतीले बुबा–आमा गुमाएका ३ जना बालकलाई सहयोगस्वरूप १ लाख ६२ हजार रुपियाँ प्रदान गर्नुभएको छ। यही फागुन ३ गते नेपाल समाचारपत्रमा ‘बाबुआमाको मृत्युपछि बच्चाहरूको बिचल्ली’ शीर्षकमा समाचार छापिएपछि सहाराविहीन बनेका रुकुमको सानीभेरी गाउँपालिका–११ का १३ वर्षीय बलबहादुर खड्का, ९ वर्षीय गोपाल खड्का र ६ वर्षीय धनबहादुर खड्काले राहत पाएका हुन्।

बुबा धर्मे खड्काको २०७१ सालमा झाडापखाला र आमा मगी खड्काको गत वैशाख २० गते स्तन क्यान्सरबाट मृत्यु भएपछि टुहुरा बनेका उनीहरू साविकको अर्मा गाविस ७ मा आफन्तको घरमा बस्दै आएका थिए। साई समाज सेवा निधि पाटनढोकाका अध्यक्षसमेत रहनुभएका डाक्टर दीक्षितसँगै सोही संस्थाका सदस्य–सचिव रेवादेवी दीक्षितले पनि १२ हजार रुपियाँ प्रदान गर्नुभएको थियो। स्मरणीय छ, पत्रपत्रिकामा यस्ता समाचार आएपछि दीक्षित दम्पतीले यसअघि पनि सहराविहीन बालबालिकालाई पटकपटक आर्थिक सहयोग गर्दै आउनुभएको छ।

यसैबीच बिहीबार जिल्ला प्रशासन कार्यक्रममा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले नेपाल बैंक लिमिटेडमा उनीहरूको नाममा खोलिएको बाल वचत खातामा जम्मा गरिएको उक्त रकमको भौचर हस्तान्तरण गर्नुभयो। उनीहरूले पाएको १ लाख ५० हजार रकम मुद्दती खातामा राखिएको छ भने १२ हजार तत्काल शैक्षिक सामग्री, लत्ताकपडा किन्नका लागि खर्चस्वरूप पठाएको बताइएको छ।

सहयोग पाएपछि खुसी हुँदै सबैभन्दा जेठा बलबहादुरले भन्नुभयो– ‘हामीहरूलाई पढ्न साह्रै मन लागे पनि स्कुल जानका लागि कपडा र लेख्न–पढ्न कलम–कापी नभएर जान सकिएन, अब यो पैसाबाट आउने त्रैमासिक ब्याजबाट त्यो किन्न सकिने आश लागेको छ।’उक्त अवसरमा जिल्ला बाल कल्याण समितिका संयोजकसमेत रहनुभएका प्र .जि .अ आचार्यले डा. दीक्षित दम्पती र पत्रकार दाहाललाई धन्यवाद दिनुभयो।

उक्त कार्यक्रममा जिल्ला बाल अधिकार अधिकृत मानवीर ओलीले उनीहरूलाई जिल्ला बाल कल्याण समितिबाट पनि यसअघि नै १० हजार प्रदान गरिएको जानकारी दिनुभयो। सानीभेरी गाउँपालिकाका सामाजिक परिचालक कमल डाँगीले सहयोगी दीक्षित दम्पतीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);