काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल,आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन रणनीति बारे छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय समावेशीआयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ ।




