युरोपेली संघ (ईयू) र बेलायतबीच भएको सम्झौता प्रारम्भिक रूपमा कार्यान्वयनमा आएसँगै जिब्राल्टर र स्पेनको सीमा क्षेत्रमा रहेको काँडेतारको बार बुधवार हटाइएको छ । यससँगै सीमा वारपार गर्ने व्यक्ति तथा सवारी साधनका लागि गरिँदै आएको राहदानी र परिचयपत्रको नियमित जाँचको व्यवस्था समेत अन्त्य भएको छ । जिब्राल्टर र स्पेनको ‘ला लिनिया डे ला कन्सेप्सन’ नगरपालिका जोड्ने सीमा पर्खाल हटाउन आयोजित समारोहमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री सान्चेजले यस ऐतिहासिक कदमलाई युरोपेली महाद्वीपको अन्तिम पर्खाल ढलेको रूपमा व्याख्या गर्दै यस क्षेत्रका लागि साझा समृद्धि र अवसरले भरिएको नयाँ युगको शुरुवात भएको बताउनु भयो । सम्झौताको व्यवस्थाअनुसार स्पेनले जिब्राल्टरको बन्दरगाह र विमानस्थलमा सेन्जेन (क्अजभलनभल) क्षेत्रको जिम्मेवारी बहन गर्नेछ । यसअन्तर्गत ईयूको वाह्य सीमा सुरक्षा र भिसा नियन्त्रणका कार्यहरू पर्दछन् । साथै, ईयू र जिब्राल्टरबीच एक भन्सार युनियनको समेत स्थापना गरिने प्रधानमन्त्री सान्चेजले जानकारी दिनुभयो ।
यस सम्झौताले जिब्राल्टर विमानस्थललाई साझा व्यवस्थापन मोडलअन्तर्गत नागरिक उड्डयनका लागि खुला गर्नेछ । यसका साथै, सीमापार कार्यरत श्रमिकहरूको सुरक्षालाई सुदृढ गर्दै उनीहरूका लागि बेरोजगारी भत्ता र पेन्सन जस्ता सुविधाहरू सुनिश्चित गरिएको छ ।
प्रधानमन्त्री सान्चेजकाअनुसार स्पेनमा कानुनी रूपमा बसोवास गर्ने कुनै पनि ईयू नागरिकले जिब्राल्टरमा बिना भेदभाव र समान सर्तमा रोजगारी प्राप्त गर्न सक्नेछन् । क्षेत्रको सामाजिक एकता र ऐक्यबद्धता प्रवद्र्धन गर्न एक सामाजिक कोषको समेत स्थापना गरिनेछ, जसले तालिम र रोजगारीका क्षेत्रमा कार्य गर्नेछ ।
भौगोलिक रूपमा आइबेरियन प्रायद्वीपको दक्षिणी छेउमा करिव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिब्राल्टर सन् १७१३ देखि बेलायती नियन्त्रणमा रहँदै आएको छ । यद्यपि स्पेनले लामो समयदेखि यस क्षेत्रमाथि आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ । बेलायत युरोपेली संघबाट बाहिरिएपछि (ब्रेक्जिट) जिब्राल्टरलाई ईयू–बेलायत व्यापार र सहयोग सम्झौतामा समावेश गरिएको थिएन, जसका कारण यसका लागि छुट्टै वार्ता आवश्यक भएको थियो । ईयू, बेलायत, स्पेन र जिब्राल्टरबीच मानिस र वस्तुको आवतजावत, सीमा व्यवस्थापन, कर प्रणाली र विमानस्थल सञ्चालनका विषयमा वर्षौँसम्म वार्ता चलेको थियो । ईयू र बेलायतले गत जुलाई १४ मा ब्रसेल्समा जिब्राल्टर सम्बन्धी यस सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए । स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेसले यस सम्झौताले ब्रेक्जिटको पजलको अन्तिम टुक्रा पूरा गरेको टिप्पणी गर्नुभएको छ । यो अन्तरिम सम्झौतालाई स्वीकृतिका लागि यसै हिउँदमा युरोपेली संसदमा पेश गरिने कार्यक्रम रहेको छ ।
जिब्राल्टर र स्पेनबीचको सीमा पर्खाल हटाइयोः साझा समृद्धिको नयाँ युग शुरु भएको स्पेनी प्रधानमन्त्रीको उद्घोष
ताजा समाचार
इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण
३५ मिनेट अघि
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
४६ मिनेट अघि




