काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनुभएको छ ।कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो । न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गर्नुभयो । मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो । पुराना मुद्दाहरूलाई छिटो फस्र्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो । न्यायाधीश पौडेलले सञ्चारमाध्यमहरूलाई समाचार संप्रेषण गर्दा सत्यता र तथ्यपरकतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । हचुवाका भरमा वा अरूको सिको गरेर भन्दा पनि यथार्थमा आधारित भई निर्भीक रूपमा समाचार लेख्न उहाँले सञ्चारकर्मीहरूलाई सुझाव दिनुभयो ।




