एकैपटक २ सय ४० न्यायाधीश सरुवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकैपटक २ सय ४० न्यायाधीश सरुवा

adalat

काठमाडौं, ३ साउन । न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो ।

उच्च अदालतमा काजमा रहेका न्यायाधीश बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ । त्यस्तै, विशेष अदालतमा काजमा रहेका प्र्रमोदकुमार श्रेष्ठ वैद्यलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ । सर्वोच्चमा काजमा रहेका श्रीकान्त पौडेललाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।

यस्तै, न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो ।

विशेष अदालतमा न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने गरी सिफारिस भएको छ । यस्तै, उच्च अदालतका न्यायाधीश कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याललाई विशेष अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । सो सिफारिसपछि मन्त्रिपरिषद्ले निर्णय गरी उनीहरूलाई जिम्मेवारी तोक्नेछ ।

यसअघि विशेषमा बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्य थिए । लामो समयदेखि विशेषमा तीन जना मात्र न्यायाधीश थिए ।  प्रधानन्यायाधीशका रूपमा राणाले शपथ लिएको केही समयमै त्यहाँ कार्यरत तीन न्यायाधीशको सरुवा भएको थियो । हाल विशेषमा ६ सय २३ थान मुद्दा विचाराधीन छन् । यो वर्ष मात्र विशेषमा ३ सय ७० थान मुद्दा दर्ता भएको छ ।

नेपालको संविधानको धारा १५२(१) मा विशिष्टीकृत अदालतको व्यवस्था गरी खास किसिम र प्रकृतिका मुद्दाको कारबाही गर्ने अधिकार विशेषलाई दिइएको छ । विशेष अदालत ऐन, २०५९ को दफा ३ ले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न सक्ने अधिकार पनि दिएको छ ।

५ असार २०५९ मा पहिलोपटक भ्रष्टाचार र राज्यद्रोहको मुद्दा हेर्न विशेष अदालत गठन भएको थियो । २०७० सालमा सम्पत्ति शुद्धीकरण ऐन जारी भएपछि यस्ता मुद्दा पनि विशेषको क्षेत्राधिकारमा परेको थियो ।  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);