काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरिको मौसममा उल्लेखनीय परिवर्तन देखिने भएको छ । देशका हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहँदा तराईका केही क्षेत्रमा भने तातो लहर (लू) चल्ने प्रक्षेपण गरिएको छ । विभागकाअनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस प्रदेशमा आंशिक बदली रहने भएपनि वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर चल्ने सम्भावना छ । साथै वागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि अत्यधिक गर्मी हुने देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । राति कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने भएपनि वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थान र वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थान र मधेस प्रदेशको तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




