काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुम्बासी र मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाउनुभएको छ । ४९ जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसका अवसरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताको महसुलमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर सामान्य नागरिकमाथि प्रत्यक्ष आर्थिक भार थपेको दाबी गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गर्ने काम गरेको उहाँको भनाई छ ।
उहाँले सरकारले बजेट उच्च आय भएका र आर्थिक रूपमा सबल वर्गलाई लाभ पुग्ने गरी ल्याएको दाबी गर्नुभयो । देशभरका लाखौं सुकुम्बासी परिवार अझै स्थायी बसोबासको समस्या झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरूको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । पाण्डेले नेपालको वर्तमान भूराजनीतिक अवस्थालाई पनि चुनौतीपूर्ण रहेको पनि बताउनु भयो । नेपालले भारत, चीन तथा अमेरिका जस्ता शक्तिराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कुटनीतिक जटिलता थपिँदै गएको उहाँको भनाइ थियो । देश आर्थिक, सामाजिक र भूराजनीतिक रूपमा कठिन परिस्थितितर्फ उन्मुख रहेको उहाँको दाबी छ ।




