सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा स्पष्ट धाराणा सार्वजानिक गर्न सरकारसंग माग गरेको छ ।सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले सरकारसँग उक्त माग गर्नुभएको हो । सांसद गिरीले जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको उल्लेख गर्दै स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको बताउनु भयो ।

राज्यको कमजोर उपस्थितिका कारण सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले बिना बर्दीका सिपाही बनेर देशको रक्षा गरिरहेको उहाँको भनाई छ । उहाँले पूर्वको पशुपतिनगर देखि पश्चिमको महाकालीसम्म फैलिएको नेपाल–भारत खुला सीमामा बस्ने लाखौं नागरिकको सुरक्षाप्रति सरकारको धारणा के हो ? भन्ने प्रश्न उठाउनु भयो । सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडिएको राष्ट्रिय संवेदनशील विषयका सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

सांसद गिरीले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा सम्बन्धी विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकहरूमा यस विषयलाई स्पष्ट रूपमा उठाउन सरकारसँग माग गर्नुभयो । सुस्ताका स्थानीय किसानले राष्ट्रिय स्वाभिमान र भूगोलको रक्षा गर्न देखाएको साहस प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले सरकारलाई उनीहरूको योगदानको सम्मान हुने गरी कदम चाल्न आग्रह गर्नुभयो । साथै, सीमा सुरक्षाका विषयमा नेपाल सरकार र प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उहाँको माग छ ।

Leave a Reply

ताजा समाचार