काठमाडौं ।
नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा न्युन पुँजीगत बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रश्तुत विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै थापाले बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा मात्र केन्द्रित भएको टिप्पणी गर्नुभएको हो । छलफलका क्रममा प्रमुख सचेतक थापाले बजेटको सैद्धान्तिक पक्ष र समता करको औचित्यमाथि प्रश्न उठाउनु भयो । धनी र गरिबबीचको खाडल पुर्ने र सामाजिक न्याय स्थापित गर्ने भन्दै सरकारले समता कर लागू गरे पनि त्यसको प्रतिफल लक्षित क्षेत्रमा नदेखिएको उहाँको दाबी छ ।
यस्तै, विधेयकको दफा ५ ले अर्थ मन्त्रालयलाई कुल विनियोजनको १० प्रतिशत (करिव १७ अर्ब रुपैयाँभन्दा बढी) सम्म रकमान्तर गर्ने अधिकार दिएकोमा उहाँले आपत्ति जनाउनु भयो । संसदीय अनुमोदन बिना यसरी ठूलो रकम सार्न पाउने व्यवस्थाले शिक्षा र स्वास्थ्यका लागि छुट्याइएको बजेट अन्यत्र मोडिने जोखिम रहेको उहाँको तर्क छ । प्रमुख सचेतक थापाले सरकारलाई दुईवटा मुख्य सुझाव प्रश्तुत गर्नुभएको छ । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा पुँजीगत विनियोजन न्युनतम ३५ प्रतिशत पु¥याउनुपर्ने र समता करमार्फत संकलित राजस्वको उपयोगको उद्देश्य स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ ।




