गण्डकी सरकारलाई एमालेको प्रश्नः ट्रस्टमा पैसा हालेको औचित्य के हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी सरकारलाई एमालेको प्रश्नः ट्रस्टमा पैसा हालेको औचित्य के हो ?

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारसँग मुख्यमन्त्री र मन्त्रीका बुबाआमाको नाममा रहेको कोष र ट्रस्टमा बजेट दिनुको कारण माग गरेको छ । एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले आइतबारको संसद बैठकमा बोल्दै अर्थमन्त्रीसँग ट्रस्टमा पैसा हाल्नुको जवाफ मागेका हुन् ।

‘कसैलाई थाहापत्तो नदिइ कहीँ सेतो किताबमा मिलाइएको छ । कतै कहाँ मिलाइएको छ । यस्तो तरिकाले हुन्छ ?’ उनले भने, ‘ट्रस्टमा पैसा हालेको औचित्य के हो ? तपाईंले यहाँ भन्नुपर्छ सदनलाई । सदनलाई जवाफ दिनुपर्छ ।’

जनताका समस्या समाधान गर्न, विकास निर्माणका काम गर्न भन्दा पनि सत्ता र प्रतिपक्ष हेरेर बजेट बाँडिएको प्रमुख सचेतक अधिकारीले आरोप लगाए । जनताको समस्या झोलुङ्गे पुल, मोटरेबल पुल, खानेपानी हो कि ट्रस्ट भन्दै उनले सरकारलाई प्रश्न गरे ।

स्वार्थ पूरा गर्ने र अनावश्यक खर्च गर्दा जनताले संघीयता र प्रदेश सरकारको विरोध गरिरहेको अधिकारीले बताए । ‘स्वार्थ पूरा गर्ने, महँगो गाडी चढ्ने, अनावश्यक खर्च गर्ने बनायौँ । त्यसैले यो चाहिँदैन भनेर जनताले आक्रोश पोखिराखेका छन् । त्यो कुरा हेरेर हामीले काम गर्नु पर्दैन ?’ उनले थपे, ‘हाम्रो काम जनमुखी हुनुपर्दैन ? यो जनमुखी हो ? ठीक हो भन्न सक्नुहुन्छ ?’

गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धनको सरकार छ । गठबन्धन सरकारले ल्याएको आर्थिक वर्ष २०७९र०८० को वार्षिक विकास कार्यक्रम बजेट पुस्तिकामा छुटेका योजना समेटिएको पुस्तिकामा मुख्यमन्त्री र मन्त्रीका बुवाआमाको नामको ट्रस्टलाई गरेर डेढ करोड रकम विनियोजन गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले बुवा गोबर्द्धन शर्माको नामको कोष तनहुँ, व्यास नगरपालिका–१० लाईमा ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । सामाजिक विकास कार्यालय, तनहुँअन्तर्गत खर्च शीर्षक नम्बर २६४१३ मा उक्त कोषका लागि रकम राखिएको हो ।

छुटेका कार्यक्रम समावेश गरिएको भन्दै अनुसूचीमा समावेश गरेर गण्डकीमा ‘सेतो किताब’ ल्याइएको छ । त्यो पुस्तकमा २७ करोड रुपैयाँका योजना समेटिएका छन् । त्यसमा शिक्षामन्त्री मेखलाल श्रेष्ठको आमाबुवाको नामको ‘पुन नारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’लाई ५० लाख रुपैयाँ छुट्याइएको छ । यो रकम शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमार्फत नै खर्च हुनेछ ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट खर्च हुनेगरी मन्त्री श्रेष्ठकै बुवाआमाको नामको ट्रस्टलाई थप ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–१ मा ट्रस्टको भवन बनाउन उक्त रकम विनियोजन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);