चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग

काठमाडौं ।

नेपाली काँग्रेसका सचेतक निश्कल राईले मुलुकका विभिन्न कृषि क्षेत्रमा देखिएका समस्या र विकास आयोजनाका कारण उत्पन्न जटिलतातर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले विशेषगरी चिया, दुध र सुपारी किसानले भोगिरहेका समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभएको हो । सचेतक राईले पूर्वी नेपालमा वि.सं. २०४१/४२ सालदेखि शुरु भएको व्यावसायिक चिया खेती अहिले संकटमा परेको बताउनु भयो । चिया क्षेत्रका अग्रजहरूको योगदान स्मरण गर्दै उहाँले हाल उद्योगीहरूले समस्याका कारण आगामी असार १ गतेदेखि उद्योग बन्द गरी सरकारलाई साँचो बुझाउने तयारी गरेको जानकारी दिनुभयो । छिमेकी मुलुकमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन ‘जी–टु–जी’ (सरकार-सरकार) माध्यमबाट पहल गर्न र तेस्रो मुलुकमा बजार व्यवस्थापनका लागि चासो दिन उहाँले सभामुखमार्फत सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी, दुग्ध किसानले विगत ६ महिनादेखि दूधको भुक्तानी नपाएको विषयलाई पनि उहाँले सदनमा उठाउनु भयो । राईले सुपारी खेतीलाई कृषिजन्य उत्पादनका रूपमा घोषणा नगरिएको र किसानले उत्पादन गरेको सुपारी ओसारपसारमा समेत अवरोध सिर्जना गरिएको बताउनु भयो । १ केजी सुपारी बोकेर हिँड्दा समेत समस्या भोग्नुपरेको भन्दै उहाँले सुपारीलाई कृषि उपजको मान्यता दिन र सहज वातावरण बनाउन माग गर्नुभयो । मेची राजमार्ग विस्तारका सन्दर्भमा बोल्दै सचेतक राईले १५ मिटर फराकिलो बनाउने कार्य गर्नुअघि त्यसको आवश्यकता पहिचान (निड एसेसमेन्ट) गर्नुपर्नेमा जोड दिनुभयो । विगतको तुलनामा सवारी साधनको चाप कम हुँदै गएको र थुप्रै वैकल्पिक मार्गहरू उपलब्ध रहेको अवस्थामा राजमार्ग विस्तारका नाममा वर्षायाममा नागरिकलाई आतङ्कित तुल्याउन नहुने उहाँको तर्क थियो । सचेतक राईले किसानका यी आधारभूत समस्या र पूर्वाधार विकासका नाममा देखिएका अन्यौलप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्नुभएको छ ।

Leave a Reply