बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा

काठमाडौँ ।

इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उद्योगहरूको सङ्ख्या उल्लेख्य भएपनि किसान र उद्यमीले उत्पादनको तुलनात्मक प्रतिफल पाउन नसकेको उहाँले बताउनुभएको हो । इलामको औद्योगिक अवस्थाबारे जानकारी दिँदै सचेतक राईले त्यहाँ १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा रहेको उल्लेख गर्नुभयो ।

यति ठूलो सङ्ख्यामा उद्योगहरू भएपनि उत्पादित वस्तुको उचित व्यवस्थापन र बजार प्रवद्र्धन हुन नसक्दा किसान मर्कामा परेका छन् । विशेषगरी दुग्ध क्षेत्रमा देखिएको समस्याबारे बोल्दै उहाँले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाउनु भयो ।लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यवसायिक चक्र नै प्रभावित भएको उहाँको भनाइ छ । भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत धौ–धौ परेको राईले बताउनु भयो । उचित बजारीकरणको सुनिश्चितता र रोकिएको रकम तत्काल उपलब्ध गराई किसानको समस्या समाधान गर्न उहाँले माग गर्नुभएको छ ।

Leave a Reply