काठमाडौँ ।
संघीय संसद अन्तर्गतका विभिन्न विषयगत समितिका बैठकहरू बुधवार बस्ने भएका छन् । अर्थ समिति र सार्वजनिक लेखा समितिले समसामयिक तथा नीतिगत विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बुधवार बिहान ८ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य–मुख्य व्यवस्थाहरूका सम्बन्धमा माननीय अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । यसका साथै, बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि समेत छलफल गरिने जनाइएको छ । त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि बुधवार बिहान ८ बजेका लागि आह्वान गरिएको छ । यस बैठकमा पछिल्लो समय विद्युतीय सवारी साधनको जाँचपासका सम्बन्धमा उठेका प्रश्न तथा सार्वजनिक चासोका विषयमा केन्द्रित रहेर छलफल हुनेछ । सवारी साधनको जाँचपास प्रक्रियामा देखिएका अन्योल र गुनासाहरूका विषयमा समितिले सम्बन्धित पक्षसँग जानकारी लिने बुझिएको छ ।




