निर्माण सामग्री लानै सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्माण सामग्री लानै सास्ती

रसुवा,८ फागुन । हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

हाकुबाट रित्तै हिँडेर सदरमुकाम झर्न करिब ६ घन्टा लाग्छ । भारी बोकेर जाँदा यत्ति नै समयमा पुगिन्छ भन्न सकिँदैन । हाकुका उत्तम तामाङ भन्छन्, ‘सडक नभएकाले घर बनाउने सामान लान सारै अप्ठ्यारो छ ।’ सदरमुकामबाट हाकु पुग्न बाटोमा दुई स्थानमा अति नै जोखिम छ । ‘रड बोकेर जाँदा अलिकति दायाँबायाँ भयो भने सिधै खोलामा पुगिन्छ । धुन्चेबाट घर बनाउने सामान गाउँमा लैजाँदा घर नपुगिने पो हो कि भन्ने डर लाग्छ,’ तामाङ सुनाउँछन्।

सडक सञ्जालले नजोडिएको हाकुका भूकम्पपीडितले रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री सदरमुकामबाट पिठ्युमा बोकेरै लाने गरेका छन्। धुन्चेबाट करिब डेड घण्टाको ओरालो झरेपछि त्रिशूली खोला पुगिन्छ । त्रिशूली खोलामाथि ठूलाठूला भिर छन् । बाटो साँघुरो भएकाले सामग्री गाउँ पुर्याउन निकै सास्ती खेप्नुपरेको हाकुका बुद्ध तामाङले बताए । धुन्चेबाट हाकुबेसी नपुग्दासम्म बीचमा खानेपानीको व्यवस्था नहुँदा समस्या आएको हाकुवासीले बताए । करिब डेड घण्टाको ओरालो झरेपछि एउटा खोला भेटिन्छ । हाकु जाने मानिसका लागि पानी पिउन खोलाको विकल्प नभएको हाकुबेसीका याङजेन तामाङले बताइन्।

सामग्रीभन्दा ढुवानी खर्च महँगो
गत भदौमा अनुदान सम्झौता भएको हाकुमा अहिले पुनर्निर्माणले गति लिएको छ । घर निर्माणले गति लिएसँगै भूकम्पपीडित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् । सडक सञ्जालले नजोडिएको र सामग्री लिनका लागि टाढासम्म जानुपर्दा पीडितले सास्ती खेपिरहेका छन्। सामग्री खरिद गर्नुभन्दा ढुवानी महँगो भएको हाकुका भूकम्पपीडित रामबहादुर तामाङले बताए । केही समयअघि घर निर्माण थालेका तामाङले रड खरिद गरिसकेका छन् । ‘एक मुठा रड खरिद गर्दा ११ हजार ५ सय रुपैयाँ पर्यो,’ उनले भने, ‘गाउँमा पुर्याउँदा करिब १७ हजार रुपैयाँ नाघ्ने देखिन्छ।’

प्रतिबोरा एक हजार ५० रुपैयाँ परेको सिमेन्ट हाकु पुर्याउँदा १७ सय ५० पुग्ने उनको भनाइ थियो । स्थानीय स्रोत र साधनको प्रयोग गरेर भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने भए पनि अन्य सामग्रीभन्दा ती सामग्री महँगो पर्न जाँदा पीडितले रड, सिमेन्ट र बालुवाको प्रयोग बढाएका हुन् । ‘हाकुबेसीमा काठ ल्याउनुभन्दा रड ल्याउन सस्तो पर्छ,’ तामाङले भने, ‘ठूलोहाकुबाट हाकुबेसीसम्म एउटा टिम्बा ल्याएको तीन हजार रुपैयाँ पर्छ ।’

सवारीको विकल्प खच्चड
सडक सञ्जालले नजोडिएको उक्त क्षेत्रमा सामग्री ढुवानीका लागि खच्चडको विकल्प छैन । दैनिक उपभोग्य सामग्री, सिमेन्ट र बालुवा बोक्नका लागि खच्चडको प्रयोग हुने गरेको हाकुका खच्चड व्यवसायी सण्डु तामाङले बताए। मानिसले सामग्री बोकेर लैजान कठिन हुने भएकाले खच्चडको प्रयोग हुने उनले बताए । ‘काठ र रडको लम्बाइ लामो हुने भएकाले यी सामग्री खच्चडले बोक्न सक्दैनन्, ’ उनले भने, ‘अरू सामान गाउँ लानका लागि खच्चडको नै प्रयोग हुन्छ ।’ खोलाबाट निकालिएको बालुवा गाउँसम्म लैजानका लागि प्रतिपाथी २५ रुपयाँदेखि ६० रुपैयाँसम्म खच्चडधनीले लिने गरेका छन्।

खोलादेखि हाकुबेसीसम्म बालुवा बोकेको २५ रुपैयाँ र ठूलोहाकुसम्म पुर्याएको ६० रुपैयाँसम्म लिने गरेको हाकुका भूकम्पपीडित याङ्जेन तामाङले बताइन् । ‘घर निर्माणका लागि सामान किन्न भन्दा गाउँमा सामन पुर्याउँदा महँगो पर्ने रैछ,’ उनले भनिन्, ‘भूकम्पप्रतिरोधी घर बनाउन खर्चिलो रैछ ।’

हाकुमा पुनर्निर्माणको अवस्था
आमाछोदिङ्मो गाउँपालिका– १ मा पर्ने ठूलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही छन् । यी सबै लाभग्राहीसँग अनुदान सम्झौता भएको छ। अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये ३८ जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको असिस्टेन्ट सब–इन्जिनियर छत्रबहादुर शाहीले बताए । शाहीका अनुसार दुईजनाको तेस्रो किस्ताका लागि सिफारिस भएको छ । हाकुमा पुनर्निर्माण गर्नका लागि दक्ष जनशक्तिको कमी, ढुवानी समस्या र निर्माण सामग्री अभावलगायत समस्या रहको आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमादिण्डु तामाङले बताए।

हाकुका भूकम्पपीडितमध्ये चैत मसान्तसम्ममा करिब डेड सय लाभग्राहीले मात्र दोस्रो किस्ता बुझ्न सक्ने देखिएको शाहीको भनाइ छ । जोखिममा रहेको बस्ती भन्दै लामो समयसम्म अनुदान सम्झौता हुन नसकेको त्यहाँ गत भदौमा अनुदान सम्झौता गरिएको थियो। आजको नागरिक दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);