सुडानमा जारी गृहयुद्धका कारण १२ लाखभन्दा बढी बालबालिकाहरू नियमित खोप सेवाबाट वञ्चित भएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वर्षौँदेखि जारी द्वन्द्व र अस्थिरताका कारण ठूलो संख्यामा बालबालिकाहरूले आधारभूत खोप पाउन नसकेका हुन् ।
देशका विभिन्न भागमा स्वास्थ्य प्रणाली ध्वस्त हुनु र खोप अभियानहरू स्थगित हुनु नै खोप दरमा आएको उच्च गिरावटको मुख्य कारण रहेको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस संकटलाई सम्बोधन गर्न सुडानको स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन,युनिसेफ र अन्तर्राष्ट्रिय सहायता संस्था सेभ द चिल्ड्रेनसँगको सहकार्यमा छुटेका बालबालिकाहरूका लागि विशेष खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । सुडानको स्वास्थ्य मन्त्रालयका उपसचिव अली बाबिकिरले सबै बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँकाअनुसार यो प्रतिवद्धता कुनै राजनीतिक एजेण्डा नभई नागरिकप्रतिको दायित्व हो ।
मन्त्रालयकाअनुसार भौगोलिक र सुरक्षासम्बन्धी गम्भीर चुनौतीका बाबजुद गत मे महिनासम्ममा करिव ४ लाख ५० हजार बालबालिकालाई यस विशेष अभियान अन्तर्गत खोप लगाइएको छ । वर्षायाम, बाढी र जारी गोलाबारीका बीच पनि स्वास्थ्य टोलीहरूले जोखिम मोलेर सेवा प्रवाह गरिरहेको बताइएको छ । उपसचिव बाबिकिरले सरकारी टोलीहरू अर्धसैनिक बल (¥यापिड सपोर्ट फोर्सेज) को नियन्त्रणमा रहेका क्षेत्रहरूमा समेत पुगेर खोप सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
सन् २०२३ को अप्रिलको मध्यदेखि सुडानी सेना र अर्धसैनिक बलबीच शुरु भएको भीषण युद्धका कारण हालसम्म दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस आन्तरिक तथा वाह्य रूपमा विस्थापित भएका छन् । द्वन्द्वका कारण उत्पन्न मानवीय संकटले देशको स्वास्थ्य पूर्वाधारमा गम्भीर असर पु¥याएको छ ।





