राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गर्नुभएको हो । नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यताहरूलाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको जग बसालेको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिको रूपमा व्याख्या गर्दै वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पु¥याएको दाबी गर्नुभयो । नागरिकका गुनासोहरू शासकीय संरचनाबाटै सम्बोधन हुने उन्नत लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जगलाई थप मजबुत बनाएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैलाई थाहा छ लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैँले बनाएको संविधान मार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ । यो यस कारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानिएको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ । यही अभ्यासले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पु¥याएको छ । स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन् । यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ । नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ । यसैले लोकतन्त्रको जरा बलियो बनाउँछ । लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शन भित्रको अ अन्तर्य हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्नु रहेको राष्ट्रपति पौडेलको तर्क छ । नागरिकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रताको रक्षा गर्दै उनीहरूको जीवनस्तर उकास्नु नै यस व्यवस्थाको मुख्य दर्शन भएको उहाँले स्पष्ट पार्नुभयो ।





