काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्नुभएको हो । नेतृ भुसालले ऐतिहासिक आन्दोलनहरूमा पत्रकार जगतले निर्वाह गरेको भुमिकाको चर्चा गर्दै प्रेस स्वतन्त्रता कुनै दल विशेषको मात्र नभई नागरिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ भएको बताउनु भयो । उहाँले पछिल्लो समय राज्यका तर्फबाट प्रेस स्वतन्त्रता र नागरिक अधिकार कटौती गर्ने प्रयास भइरहेको आरोप लगाउनु भयो । मिडियालाई लोककल्याणकारी विज्ञापनबाट वञ्चित गर्ने र सङ्कुचित पार्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसलाई ‘प्रति–क्रान्तिको चुनौती’ को संज्ञा दिनुभयो ।
सूचना प्रविधिको विकाससँगै पत्रकारितामा अल्गोरिदम र डिपफेक जस्ता प्राविधिक चुनौती थपिएको उल्लेख गर्दै नेत्री भुसालले यस्ता समस्याको सामना गर्न प्रेस जगत थप जिम्मेवार र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । साथै, पत्रकारहरूको पेसागत सुरक्षा, श्रमको सम्मान र व्यावसायिक हितका लागि नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीलगायतका सबै सङ्गठनहरूले साझा एजेण्डामा सहकार्य गर्नुपर्ने उहाँको धारणा छ । नेतृ भुसालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू फेरि एक ठाउँमा उभिएर प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बेला आएको बताउनु भयो । प्रेस युनियनको विधान अधिवेशनले समयसापेक्ष नीति निर्माण गर्दै देश र लोकतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।




