प्रदेश ७ मा बन्यो ७ सदस्यीय मन्त्रिपरिषद् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ७ मा बन्यो ७ सदस्यीय मन्त्रिपरिषद्

7777777777

काठमाडौं, ६ फागुन । प्रदेश ७ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ मन्त्रीले शनिबार प्रदेश प्रमुख मोहनराज मल्लबाट शपथ लिएका छन् । सात सदस्यीय प्रदेश सरकारमा माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाएको छ ।

माओवादीबाट झपट बोहरा आर्थिक मामिला तथा योजनामन्त्री र बिनिता चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी छिन् । बोहरा अछाम र चौधरी कैलालीबाट प्रदेश सभा सदस्य हुन् । त्यस्तै, एमालेबाट प्रकाश शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, पठानसिंह बोहरा भौतिक तथा पूर्वाधारमन्त्री, दीर्घ सोडारी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । शाह अछाम, बोहरा डडेल्धुरा, सोडारी कैलाली र भट्ट बैतडीबाट सांसद हुन् ।

शपथग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि एमालेभित्र मन्त्री चयनमा ढिलाइ हुँदा दुई घन्टापछि सारिएको थियो । दुवै दलले शनिबार नै मन्त्रीको टुंगो लगाएका थिए । शपथग्रहणपछि मुख्यमन्त्री र मन्त्रीहरूले धनगढी चटकपुरस्थित सहिदगेटमा रहेको सालिकमा माल्यार्पण गरे । उनीहरूले आइतबार पदभार ग्रहण गर्नेछन् । शपथग्रहण समारोहमा पूर्वमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सांसद, प्रदेश सांसद, राजनीतिक दलका नेता, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्च अधिकारीलगायतको सहभागिता थियो ।

आज पदभार ग्रहण
आइतबार बिहान ९ बजे मुख्यमन्त्री भट्टले धनगढी रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । मन्त्रिपरिषद् बैठकपछि मात्रै अन्य मन्त्रीको पदभार ग्रहणको कार्यक्रम राखिएको छ ।

पहिलो बैठकले मन्त्रिपरिषद्लाई क्रियाशील बनाउन आवश्यक सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, प्रदेश सरकारको कार्यविभाजन नियमावली र प्रदेश सरकारको कार्यसम्पादन नियमावली पारित गर्नेछ । नियमावलीको मस्यौदा तयारीको काम सम्पन्न भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव कँडेलले जानकारी दिए ।

एमाले संसदीय दलको नेतामा शाह
प्रदेश ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह चयन भएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकले बाजुराका सांसद शाहलाई सर्वसम्मत चयन गरेको हो ।आकांक्षी धेरै भएपछि एमालेले नेता चयनको जिम्मा प्रदेश इन्चार्ज भीम रावललाई दिएको थियो ।

रावलकै उपस्थितिमा बसेको संसदीय दलको बैठकले शाहलाई नेता चयन गरेको हो । एमाले वैकल्पिक केन्द्रीय सदस्य शाहसहित दीर्घ सोडारी, पठानसिंह बोहरा, लीलाधर भट्ट दाबेदार रहेका थिए ।

उपसभामुखमा जोशी निर्विरोध
प्रदेश सभाको उपसभामुखमा वाम गठबन्धनबाट माओवादी नेत्री निर्मला बडाल निर्विरोध निर्वाचित भएकी छिन् । आइतबार बस्ने प्रदेश सभा बैठकले उनी निर्वाचित भएको घोषणा गर्नेछ ।

उपसभामुखमा एउटा मात्रै उम्मेदवारी परेको बताउँदै संसद् सचिवालयका उपसचिव झलक शर्मा सापकोटाले भने, ‘जोशीको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुहुन्छ । औपचारिक घोषणा संसद् बैठकले गर्नेछ ।’ उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन् । सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

कर्मचारी नआउँदा पदभार ग्रहणमा समस्या
मुख्यमन्त्री तथा मन्त्रीहरूले शनिबार शपथग्रहण गरिसके पनि कर्मचारी नआएको हुँदा पदभार ग्रहणमा समस्या देखिएको छ । यहाँका ६ वटा मन्त्रालय सञ्चालनमा आए पनि भौतिक पूर्वाधार मन्त्रालयका लागि खटिएका कर्मचारी भने अझै धनगढी पुगेका छैनन् ।

संघीय सरकारले खटाएका कुनै पनि कर्मचारी सम्पर्कमा नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव प्रदीपराज कँडेलले बताए । पूर्वाधार मन्त्रालय क्षेत्रीय सिँचाइ निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ ।

मन्त्रीको कार्यकक्ष तयार भइरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । आइतबार भौतिक पूर्वाधारमन्त्री बोहराले पदबहाली गर्दै छन् । जिल्लास्थित सम्बन्धित कार्यालयका कर्मचारीकै भरमा भए पनि पदबहाली गराउने तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको भनाइ छ ।

मुख्यमन्त्री र मन्त्रीका लागि पुरानै गाडी
प्रदेशस्थित प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालयका लागि ४५ गाडीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको भए पनि एउटा मात्रै पुरानो स्कारपियो आएको छ । यो गाडी प्रमुख सचिवलाई दिइएको छ ।

प्रदेश सचिवले प्रयोग गरेको गाडी केही नयाँ भएकाले मुख्यमन्त्रीका लागि उपलब्ध गराइएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अन्य मन्त्रीहरूलाई पनि तत्कालका लागि जिल्लास्थित विभिन्न कार्यालयका पुरानै गाडीको व्यवस्था गरिएको छ । उपलब्ध गराइएका सवारीसाधन पनि सही अवस्थामा छैनन् ।

विशिष्ट पदाधिकारीलाई पुराना गाडीमा चढाउनुपर्दा अप्ठ्यारो महसुस भएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘प्रदेशमा तत्काल आवश्यक ४५ गाडीमध्ये २० ओटासम्म जिल्लामै व्यवस्था गर्न सकिएला,’ उनले भने, ‘विशिष्ट पदाधिकारीले उपयोग गर्नयोग्य २५ वटा सवारीसाधन केन्द्रबाट अपेक्षा गरेका छौँ ।’

यस्तो छ प्रदेश ७ को मन्त्रिपरिषद् त्रिलोचन भट्ट, मुख्यमन्त्री
डोटी ‘ख’बाट निर्वाचित ४८ वर्षीय मुख्यमन्त्री भट्ट २७ वर्षदेखि माओवादीमा सक्रिय छन् । डोटीको भूमिराजमाडौंका भट्टले कक्षा ८ सम्म मात्रै अध्ययन गरेका छन् ।

प्रकाश शाह स् आन्तरिक मामिला तथा कानुनमन्त्री
शनिबार मात्रै एमाले संसदीय दलको नेतामा चयन भएका ४६ वर्षीय शाह बाजुरा ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । ०४६ मा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । बाजुराको बूढीगंगा नगरपालिकास्थित बलदेवमाडौंका शाह एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् ।

झपट बोहरा आर्थिक मामिला तथा योजनामन्त्री
धनगढी स्थायी घर भएका ४९ वर्षीय रावल अछाम १ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका रावल पूर्वबैंकर पनि हुन् । ०६४ मा माओवादीमा आबद्ध रावल अहिले सल्लाहकार छन् ।

दीर्घ सोडारी सामाजिक विकासमन्त्री
कैलाली ४ ‘क’बाट निर्वाचित ३७ वर्षीय सोडारी धनगढी शिवनगरका स्थायी बासिन्दा हुन् । बिबिएससम्मको अध्ययन गरेका सोडारी एमाले कैलालीका अध्यक्ष हुन् ।

पठानसिँह बोहरा भौतिक पूर्वाधारमन्त्री
डडेल्धुरा ‘क’बाट निर्वाचित ५२ वर्षीय बोहरा ३४ वर्षदेखि राजनीतिमा सक्रिय छन् । कानुनमा स्नातक बोहरा एमाले प्रदेश कमिटी सदस्य हुन् ।

माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री
बैतडीबाट समानुपातिक सांसद ५२ वर्षीया भट्टले कक्षा ८ सम्म अध्ययन गरेकी छिन् । दशरथ चन्द नगरपालिकास्थित गोठालापानी स्थायी घर भएकी भट्ट ०४६ देखि राजनीतिमा सक्रिय छिन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।

विनिता चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री
०५७ मा माओवादीमा आबद्ध ३२ वर्षीया चौधरी कैलालीबाट समानुपातिक सांसद हुन् । एसएलसी उत्तीर्ण चौधरी युद्धकै वेला पक्राउ परेपछि एक वर्ष कैलाली जिल्ला कारागारमा बसेकी थिइन् । उनी माओवादी केन्द्रीय सदस्य हुन् ।

नमुना प्रदेश बनाउँछु मुख्यमन्त्री
शपथग्रहणपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले प्रदेश ७ लाई देशकै नमुना प्रदेश बनाउने बताए । प्रदेश ७ विकासमा पछाडि परेको उल्लेख गर्दै उनले नमुना बनाउनका लागि आवश्यक काम तत्काल अगाडि बढाउने बताए । सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य प्राथमिकता रहेको मुख्यमन्त्री भट्टको भनाइ छ ।
‘हाम्रा सामु चुनौती र सम्भावना दुवै छन्, सम्भावनालाई अगाडि बढाउँदै सबै क्षेत्रका जनताले विकासको अनुभूति गर्ने गरी काम गर्नेछु,’ उनले भने, ‘काम गर्ने सन्दर्भमा हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नेछु ।’

मुख्यमन्त्री तथा मन्त्रीको आवास गेस्टहाउसमा
शनिबार सबै मन्त्री नियुक्त भएपछि भौतिक व्यवस्थापनको जिम्मा पाएका अधिकारीलाई आवासको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । मुख्यमन्त्रीलाई कैलाली उद्योग वाणिज्य संघको शुभम् गेस्टहाउसबाट धनगढी गाउँस्थित कृषि विकास बैंक तालिम केन्द्रको गेस्टहाउसमा सारिएको छ । अन्य सबै मन्त्रीहरूका लागि भने वाणिज्य संघको गेस्टहाउसमा आवासको प्रबन्ध गरिएको छ । मुख्यमन्त्रीको आवासका लागि अत्तरियामा भाडाको घर खोज्ने कार्य भइरहेको छ । आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);