काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरु समाधान हुने गरी नल्याएको जिकिर समेत गर्नु भयो । प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताउनु भयो । प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने पनि बताउनु भयो ।




