काठमाडौँ ।
नेपाल हस्तकला महासंघले नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६ आयोजना गर्ने भएको छ । महासंघले सोमवार पत्रकार सम्मेलन गरी आगामी जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेट एण्ड इभेन्ट प्रा. लि. मा मेला हुने जानकारी दिएको हो । नेपाली हस्तकला क्षेत्रको प्रवद्र्धन, स्थानीय उद्यमीको बजार पहुँच विस्तार तथा परम्परागत कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो । नेपालका विभिन्न जिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने वस्तुको प्रवद्र्धन, उत्पादनलाई बजार पहुँच तथा उत्पादक र खरिदकर्ताबीच समन्वय गराउन मेलाले सहयोग गर्ने उहाँको भनाई छ । मेलामा लोपोन्मुख सांस्कृतिक पहिचान, परम्परागत भेषभूषा र पुस्तान्तरण हुन नसकेका सीप संरक्षणलाई विशेष प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । उहाँकाकअनुसार यसपटक मेलाको मुख्य थिम थारु संस्कृतिलाई बनाइएको छ । नेपालमा राना थारु, कठरिया थारु र देउखुरिया थारु गरी विभिन्न समुदायका विशिष्ट सांस्कृतिक पहिचान रहेका छन् ।
थारु महिलाले प्रयोग गर्ने ‘लेहेंगा’ र ‘अङ्ग्या’मा गरिने परम्परागत कढाइ कला अहिले लोपोन्मुख अवस्थामा पुगेको बताउनु भयो । बर्दियाका राना थारु समुदाय तथा दाङका गजरा थारु समुदायमा प्रयोग हुने ‘कदेरिया’ शैलीको कढाइ पनि हाल लोपोन्मुख रहेको उहाँले बताउनु भयो । उक्त कदेरिया शैलीको कढाई कला कुनै समय राजस्थानसम्म व्यापारिक पहुँच पुगेको विशिष्ट कला भएको स्मरण गराउँदै उहाँले हाल पुस्तान्तरण अभावमा हराउँदै गएको बताउनु भयो । शाक्यले मेलामा थारु सांस्कृतिक नृत्य, कार्यशाला र प्यानल छलफलसमेत आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो । मेलामार्फत हस्तकला क्षेत्रको घोषणापत्र तयार गरी नेपाल सरकारलाई बुझाउने तयारी रहेको उहाँले बताउनु कभयो । सुदूरपश्चिमका मुक्त कमलरी समुदायको सांस्कृतिक विशिष्टतालाई पनि मेलामा समेट्न खोजिएको उहाँको भनाई छ ।
हस्तकला क्षेत्रले देशभर लाखौं नागरिकलाई स्वरोजगारको अवसर प्रदान गर्दै आएको महासंघले जनाएको छ । भारत, चीन लगायत तेस्रो विश्वका मुलुकहरूमा वार्षिक करिव २८ अर्ब बराबरका हस्तकला सामग्री निर्यात भइरहेको महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिनुभयो । हस्तकला क्षेत्र कृषिजन्य उद्योगपछि उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा रहेको उहाँको भनाई छ । मेलामा हस्तकला प्रदर्शनी तथा विक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कालीगढहरूको सीप प्रदर्शन, साथै विभिन्न जिल्लाका परम्परागत परिकारहरूको स्वाद पश्तुत गरिने महासंघले जनाएको छ । मेलामा काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बाग्लुङ लगायत जिल्लाका हस्तकला संघहरूको सहभागिता रहनेछ । महासंघकाअनुसार मेलामा करिब ७० वटा स्टल रहनेछन् । मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको महासंघले जनाएको छ ।





