काठमाडौँ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय मोबाइल आयातको परिमाण बढे पनि व्यवसायीहरूमा उत्साह नदेखिनु र पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको उहाँले बताउनुभएको हो । नेता आङदेम्बेले मोबाइल फोनको आवश्यकता र अपरिहार्यता समाजका हरेक वर्गमा बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तथ्याङ्क प्रश्तुत गर्दै अघिल्लो वर्षको तुलनामा चालु समयमा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आयात हुनु र ९० हजारभन्दा बढी थान मोबाइल भित्रिनुले यसको बढ्दो मागलाई स्पष्ट पारेको बताउनु भयो । किसान, मजदुरदेखि हरेक वर्गका लागि मोबाइल प्रविधि आजको युगको सबैभन्दा भरपर्दो र आवश्यक माध्यम बनेको उहाँको भनाइ छ ।
नेता आङदेम्बेले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी अड्चनहरू फुकाउनका लागि आफूले संसदमा रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट नियालेर समाधानको मार्ग प्रशस्त गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।





