काठमाडौँ ।
नवनियुक्त सङ्घीय संसद सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक समारोहका बीच उहाँले आफ्नो पदको शपथ लिनुभएको हो । उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराउनु भयो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ ।
सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गर्नुभएको थियो । संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ ।





