यातायात क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको छ, सरकारले यो क्षेत्रलाइ बचाउन सही कदम चालोस्ः श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

यातायात क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको छ, सरकारले यो क्षेत्रलाइ बचाउन सही कदम चालोस्ः श्रेष्ठ

काठमाडौं ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको बताउनुभयो  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बढ्दो इन्धन मूल्य, महँगो सवारीसाधनका पार्टपुर्जा, बैंकहरूको चर्को ब्याजदर, करको भार, अस्वस्थ प्रतिष्पर्धा, सडकको दयनीय अवस्था तथा नीतिगत अस्थिरताले यातायात व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको बताउनु भयो । डिजिटल प्रविधिको नाममा अनियन्त्रित र अव्यवस्थित प्लेटफर्महरूको प्रवेशले परम्परागत यातायात व्यवसाय थप दबाबमा परेको उहाँले बताउनुभयो । राज्यले स्पष्ट नीति, समान अवसर र व्यवसायमैत्री वातावरण निर्माण गर्न नसक्दा व्यवसायीहरूले थप समस्या भोग्नुपरेको उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले राज्यको न्यून लगानी तथा नयाँ प्रविधिलाई व्यवस्थित रूपमा समायोजन गर्न नसक्दा नेपाली जनताको लगानी नै जोखिममा परेको बताउनु भयो । उहाँले केवल सवारीसाधनको आयु तोकेर व्यवसाय अन्त्य गर्ने नीति उपयुक्त नभएको उल्लेख गर्दै समयअनुकूल व्यवस्थापन र रूपान्तरण आवश्यक रहेको बताउनु भयो । श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्न राज्यले लगानी बढाउनुका साथै स्पष्ट नीतिगत व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो । साथै, व्यवसायीहरू एकतावद्ध भएर आफ्ना अधिकार र समस्या समाधानका लागि आवाज उठाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताउनु भयो । महाधिवेशनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सडक सुरक्षादेखि नीतिगत सुधार तथा यातायात क्षेत्रका मुद्दामा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले नाडा यातायात व्यवसायीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । सवारीसाधन आयात गर्ने र यातायात व्यवसायीहरूले सञ्चालन गर्ने भएकाले दुवै क्षेत्र एकअर्काबाट अलग रहन नसक्ने बताउनु भयो । व्यवसायीहरूसँगको सहकार्यलाई नाडाले सदैव प्राथमिकतामा राख्ने भन्दै उहाँले लामो समयसम्म सहकार्य गरेर अगाडि बढ्न संस्था तयार रहेको उहाँको भनाइ छ । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक रहेको बताउनु भयो । महाधिवेशनमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम ज्वाला राईले सार्वजनिक यातायात क्षेत्रको वर्तमान अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनु भयो ।  उहाँले देशभरका करिब पाँच लाख यातायात व्यवसायीले निजी लगानीमार्फत करिब १५ खर्ब रुपैयाँभन्दा बढी पूँजी सार्वजनिक यातायात क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवद्र्धन गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भयो । राइकाअनुसार अहिले सार्वजनिक यातायात क्षेत्रमा लगानी असुरक्षित बन्दै गएको छ भने व्यवसायी बैंकको किस्ता तिर्न नसक्ने चिन्तामा छन् ।

अर्कोतर्फ, करिब पाँच लाख यातायात श्रमिक सामाजिक सुरक्षाको दायराभन्दा बाहिर रहेको र रोजगारीको खोजीमा विदेशिन बाध्य भएको उहाँको भनाइ थियो ।राईले सार्वजनिक यातायात सेवा गुणस्तरीय, सुरक्षित र भरपर्दो हुन नसक्दा आम नागरिक पनि असन्तुष्ट बनेको बताउनु भयो । सरकारले सार्वजनिक यातायातलाई जनसरोकारको विषयका रूपमा प्राथमिकता दिन नसकेको आरोप लगाउँदै उहाँले निजी क्षेत्रको ठूलो लगानी हुँदाहुँदै राज्यको ध्यान पर्याप्त नपुगेको उल्लेख गर्नुभयो ।  संविधानअनुसार संघ सरकारले कानुन बनाउने र प्रदेश सरकारले सञ्चालन तथा भाडा व्यवस्थापन गर्ने व्यवस्था रहेकाले समन्वय अभावका कारण पनि सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार