काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेबारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्ने कुरामा पार्टी अब प्रविधिमार्फत् जानकार रहने उल्लेख गर्नुभयो ।
सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्ने कुरा सत्य नरहेको बताउनुभयो । पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसाबले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको बताउनुभयो ।
आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारी समितिको रूपमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । महामन्त्री पौडेलले अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टीले सार्वजनिक गरेको क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगको अपिल गर्नुभयो । अग्रज नेताहरूलाई अभिभावकको रूपमा सम्मान गर्ने बताउँदै उहाँले उहाँहरूको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।





