काठमाडाैं । पश्चिम एशियामा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबिचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पार्नुभएको छ । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताउनुभयो । यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ ।
तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ ।
इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताउनुभयो ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने स्पष्ट पार्नुभएको छ । “यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ”, उहाँको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाउनुभएको छ ।
यसबीच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो ।





