प्रविधिको वरदान कि अभिशाप ? सन्तुलनको खोजीमा मानव जीवन ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

प्रविधिको वरदान कि अभिशाप ? सन्तुलनको खोजीमा मानव जीवन !

प्रविधिले जीवनलाई अभूतपूर्व रूपमा सहज बनाएको छ, तर यसले मानवीय मूल्यहरूमा कस्तो असर पारिरहेको छ भन्ने प्रश्न गम्भीर बन्दै गएको छ । सुविधाको नाममा बढ्दो निर्भरता, कमजोर बन्दै सम्बन्ध र स्वास्थ्यमा परेको असर यसको लुकेको मूल्य हो । सन्तुलित प्रयोग बिना प्रविधिको सहजता मानव जीवनको गुणस्तरका लागि चुनौती बन्न नसक्ला भन्न सकिँदैन ।

 

-माेहनप्रसाद मैनाली
मानव सभ्यताको विकासक्रममा प्रविधि सबैभन्दा शक्तिशाली रूपान्तरणकारी साधनका रूपमा उदाएको छ । ढुंगे युगदेखि डिजिटल युगसम्म आइपुग्दा प्रविधिले मानव जीवनलाई सहज, छरितो र प्रभावकारी बनाएको छ । आज विश्वमा आविष्कार भएका तथा समयानुसार विकसित र परिस्कृत भएका विविध प्रविधिहरू नेपालमा पनि तीव्र रूपमा भित्रिएका छन् । मोबाइल बैंकिङ, अनलाइन शिक्षा, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, ई–गभर्नेन्स जस्ता प्रविधिहरूले हाम्रो दैनिकीलाई अत्यन्त सरल बनाएका छन् । तर प्रविधिबाट सहजता प्राप्त गर्दा हामीले कस्तो मूल्य चुकाइरहेका छौँ ? भन्ने प्रश्न पनि हाम्रासामु सँगसँग आइरहेको छ ।

प्रविधिको सबैभन्दा ठूलो योगदान भनेको समय र श्रमको बचत हो । विगतमा धेरै दिन वा साता लाग्ने काम आज केही सेकेन्डमै सम्पन्न हुन्छ । बैंक जानुपर्ने झन्झट बिना मोबाइलबाटै कारोबार गर्न सकिन्छ । टाढाको आफन्तसँग भिडियो कलमार्फत तुरुन्त सम्पर्क गर्न सकिन्छ । शिक्षामा पनि ठूलो परिवर्तन आएको छ । विद्यार्थीहरूले विश्वस्तरीय सामग्री घरमै बसेर अध्ययन गर्न सक्छन् । यस दृष्टिले प्रविधिले जीवनलाई सहज र पहुँचयोग्य बनाएको तथ्य अस्वीकार गर्न सकिँदैन ।

तर यही सहजताले मानव जीवनका केही मौलिक पक्षहरूलाई कमजोर बनाइरहेको छ । प्रविधिको अत्यधिक प्रयोगले मानिसलाई अल्छि बनाउँदै लगेको छ । शारीरिक श्रम घट्दै जाँदा स्वास्थ्यसम्बन्धी समस्या बढिरहेका छन् । हिँडडुलको सट्टा सवारी साधन, प्रत्यक्ष भेटघाटको सट्टा भर्चुअल संवाद, पुस्तक पढ्ने बानीको सट्टा छोटा भिडियोमा सीमित हुने प्रवृत्ति बढ्दो छ । यसले मानवको सिर्जनशीलता, धैर्यता र गहिरो सोच्ने क्षमतामा नकारात्मक असर पारिरहेको छ ।

प्रविधिले सामाजिक सम्बन्धहरूमा दूरी सिर्जना गरेको छ । सामाजिक सञ्जालले मानिसलाई सम्पर्कमा रहेको देखिए पनि वास्तविक सम्बन्धहरू कमजोर बन्दै गएका हुन्छन् । परिवारका सदस्यहरू एउटै कोठामा बसेर पनि आ–आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । मित्रता ‘लाइक’ र ‘कमेण्ट’ मा सीमित हुँदै गएको छ । यसले भावनात्मक सम्बन्धहरूमा चिसोपन ल्याएको छ, जुन दीर्घकालीन रूपमा समाजका लागि चिन्ताजनक विषय मान्न सकिन्छ ।

प्रविधिको विस्तारसँगै गोपनीयता र सुरक्षा चुनौतीहरू पनि बढेका छन् । व्यक्तिगत विवरणहरू अनलाइनमा भण्डारण हुँदा साइबर अपराधको जोखिम बढेको छ । ह्याकिङ, ठगी, डेटा दुरुपयोग जस्ता समस्या विश्वव्यापी रूपमा देखापरेका छन् । नेपाल पनि यसबाट अछुतो छैन । डिजिटल साक्षरताको कमीका कारण धेरै नागरिकहरू प्रविधिको दुरुपयोगबाट पीडित भइरहेका छन् ।

प्रविधिले आर्थिक असमानता पनि बढाउन सक्छ । शहर र गाउँबीचको डिजिटल विभाजन अझै स्पष्ट छ । सबैसँग समान रूपमा इन्टरनेट पहुँच, उपकरण वा डिजिटल ज्ञान छैन । जसले प्रविधिमा पहुँच राख्छ, उसले अवसरहरू पाउँछ, पहुँच नभएकाहरू झन् पछाडि पर्दै जान्छन् । यसले समाजमा डिजिटल डिभाइसको नयाँ प्रकारको असमानता जन्माएको छ ।

प्रविधिको विकासले रोजगारीको स्वरूपमा ठूलो परिवर्तन ल्याएको छ । धेरै परम्परागत पेशाहरू विस्थापित भइरहेका छन् भने नयाँ सीपहरूको माग बढेको छ । यो परिवर्तनसँगै अनुकूलन गर्न नसक्ने जनशक्ति बेरोजगार हुने जोखिममा छ । नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ सीप विकासको गति प्रविधिको विकाससँग मेल खाँदैन, यो चुनौती अझ गम्भीर देखिन्छ ।

यद्यपी, प्रविधिलाई दोष दिने मात्र होइन, यसको सही प्रयोगतर्फ ध्यान दिनु पनि आवश्यक छ । प्रविधि स्वयंमा न त राम्रो हो न त नराम्रो । यसको प्रभाव प्रयोगकर्ताको व्यवहारमा निर्भर हुन्छ । यदि हामीले प्रविधिलाई सन्तुलित रूपमा प्रयोग गर्न सक्यौँ भने यसले हाम्रो जीवनलाई अझ समृद्ध बनाउन सक्छ । उदाहरणका लागि, सामाजिक सञ्जाललाई समयको बर्बादीका रूपमा नभइ ज्ञान आदानप्रदानको माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । डिजिटल उपकरणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिर्जनात्मक काममा लगाउन सकिन्छ ।

यसका लागि सरकार, शैक्षिक संस्था र समाजले संयुक्त रूपमा पहल गर्नुपर्छ । डिजिटल साक्षरता बढाउने, साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउने र प्रविधिको जिम्मेवार प्रयोगबारे शिक्षा दिने काम अत्यावश्यक छ । साथै, प्रविधिको पहुँच सबै वर्ग र क्षेत्रमा समान रूपमा विस्तार गर्न नीतिगत प्रयास आवश्यक छ ।

प्रविधिले हाम्रो जीवनलाई सजिलो बनाएको छ, तर यसको मूल्य पैसामा होइन, हाम्रो समय, स्वास्थ्य, सम्बन्ध र मानवीय गुणहरूमा मापन गर्नुपर्छ । यदि हामीले यी पक्षहरू गुमाउँदै गयौँ भने प्रविधिको सहजता देखावटी मात्र बन्ने निश्चित छ । त्यसैले, सुविधा र मूल्यबीचको सन्तुलन कायम राख्न प्रविधिसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक छ ।

प्रविधि हाम्रो सेवक हो, मालिक होइन । यदि हामीले यसलाई सही तरिकाले नियन्त्रण गर्न सकेनौँ भने, सजिलो जीवनको खोजीमा हामीले जीवनकै मूल्य गुमाउने खतरा रहन्छ । त्यसैले आजको आवश्यकता भनेको प्रविधिको प्रयोगमा सचेतता, सन्तुलन र जिम्मेवारी हो र यही नै साँचो अर्थमा सजिलो जीवनको सही मूल्य हो ।

Leave a Reply