एजेन्सी । सेनेगलले देशभर विभिन्न कार्यक्रमका साथ आफ्नो ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । यस अवसरमा राजधानी डकारबाट करिव ७० किलोमिटर पूर्वमा अवस्थित थाइस शहरमा राष्ट्रपति बासिरु डियोमाये फायेको अध्यक्षतामा एक भव्य नागरिक–सैनिक कवाज आयोजना गरिएको थियो ।
सरकारको इन्डिपेन्डेन्स प्रोग्राम अन्तर्गत डकारबाहिर राष्ट्रिय स्वतन्त्रता दिवस समारोह आयोजना गर्ने थाइस पहिलो क्षेत्रीय राजधानी हो । यो पहल भविष्यमा क्रमैसँग विभिन्न क्षेत्रीय राजधानीहरूमा समारोह आयोजना गरी ती शहरहरूको स्तरोन्नति गर्ने उद्देश्यका साथ ल्याइएको हो ।
यस वर्षको उत्सवको नारा डकार २०२६ युवा ओलम्पिक खेलकुदलाई सफल बनाउन रक्षा र सुरक्षा बलको भूमिका राखिएको थियो । सेनेगलले अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म आयोजना गर्ने यो प्रतियोगिता अफ्रिकी महादेशमा आयोजना हुने पहिलो ओलम्पिक खेलकुद इभेन्ट हुनेछ ।
समारोह अघि सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार कवाजमा २२ वटा सैन्य र अर्ध–सैन्य टोलीका ३,३५८ जना र २५ वटा नागरिक समूहका १,२९३ जना सहभागी थिए । प्रदर्शनमा ११ वटा विमान, २६५ वटा सवारी साधन र बख्तरबन्द गाडी, १०६ वटा मोटरसाइकल, चारवटा डुङ्गा र घोडचढी दस्ताहरू पनि समावेश थिए । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति फायेले त्रुटिरहित कवाजको प्रशंसा गर्नुभयो । उहाँले नागरिक र सशस्त्र तथा सुरक्षा बलहरूबीचको बलियो एकताको सराहना गर्दै राष्ट्रिय उत्सव राष्ट्रिय मेलमिलाप र एकताको क्षण भएको बताउनुभयो ।
यस वर्षको उत्सवको नारालाई सन्दर्भ गर्दै, उहाँले सेनेगलले ओलम्पिक अभियान र खेलकुद जगतलाई सेनेगाली परम्परामा निहित आतिथ्य र मानवताको भावनाका साथ स्वागत गर्न तयार रहेको बताउनुभयो ।





