काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताउनुभएको छ । उहाँले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य भएकोमा जोड दिनुभएको हो ।
नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेन–जी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गर्नुभयो । सन् २०११ मा अमेरिकी दुतावासले गठन गरेको ‘युथ काउन्सिल’ मार्फत नेपाली युवाहरूलाई लक्षित गरी प्रभाव विस्तार गरिएको उहाँको आरोप छ । उहाँले अमेरिकी दुतावासले बनाएको युथ काउन्सिल तत्काल खारेज गर्न माग गर्नुभयो ।
उहाँले युवाहरूलाई विचार र राजनीतिबाट टाढा राखेर ‘हिप्नोटाइज’ गरिएको तर्क समेत गर्नुभयो । पोखरेलले एमसीसी, आईपीएस र एसपीपीलाई अमेरिकी रणनीतिको हिस्सा भएको बताउनुभयो । उहाँका अनुसार अमेरिकाको उद्देश्य नेपालमा सैनिक ब्यारेक खडा गर्ने (एन्टी–चाइना इनसर्कलमेन्ट), दक्षिण एशियामा मोनिटरिङ सेन्टर बनाउने र नेपालमा रहेका बहुमूल्य ‘रेयर अर्थ मेटेरियल’ (दुर्लभ खनिज) माथि आँखा गाड्नु रहेको छ ।
नेता पोखरेलले वर्तमान सरकार र अर्थमन्त्रीको कार्यशैलीमाथि पनि कडा आलोचना गर्नुभयो । अर्थमन्त्रीले संविधान विपरीत ‘नव–उदारवादी’ अर्थतन्त्रको कुरा गरेको भन्दै उहाँले नेपालको संविधानले मिश्रित अर्थतन्त्र (निजी, सहकारी र सार्वजनिक) लाई मात्र स्वीकार गर्ने स्पष्ट पार्नुभयो । निर्वाचनको परिणाम र परराष्ट्र सम्बन्धको चर्चा गर्दै उहाँले ‘एल्गोरिदम’ र ‘पोलिटिकल मास हिस्टेरिया’ का कारण चुनावी नतिजा प्रभावित भएको बताउनुभयो । उहाँले विचारमा मतभेद भएपनि राष्ट्रियताको सवालमा सबै वामपन्थी र देशभक्तहरू एक हुनुको विकल्प नरहेको बताउनुभयो ।





