एजेन्सी । म्यानमारले राजधानी नेपितोमा सैन्य परेडको आयोजना गर्दै आफ्नो ८१ औँ सशस्त्र बल दिवस मनाएको छ । यो दिवस दोस्रो विश्वयुद्धका बेला फासीवाद विरोधी आन्दोलनको शुरुवात भएको सम्झनामा मनाइएको हो ।
सैन्य परेड कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सुरक्षा तथा शान्ति आयोगका अध्यक्ष एवं रक्षा सेवाका प्रधान सेनापति सिनियर जनरल मिन आङ ह्लाइङले यो वार्षिकोत्सव राष्ट्रको स्वतन्त्रता संग्रामको कठिन परिस्थितिबाट निर्माण भएको सशस्त्र बलको अटल विरासत झल्काउने एक गम्भीर र गर्वको अवसर भएको बताउनुभयो ।
समारोहका क्रममा सैन्य विमान र हेलिकप्टरहरूले आकाशमा उडान भरिरहँदा सशस्त्र बलका यान्त्रीकृत एकाइ र पैदल सैनिकहरूले परेड मैदानमा मार्चपास गरेका थिए । दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारले सन् १९४५ मार्च २७ लाई साम्राज्यवादी जापानको फासीवादी कब्जा विरुद्ध आफ्नो सेनाले प्रतिरोध शुरु गरेको दिनका रूपमा मनाउँदै आएको छ ।





