नयाँ प्रधानमन्त्रीकाे रूपमा बालेनले अपरान्ह १२ : ३४ बजे शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

नयाँ प्रधानमन्त्रीकाे रूपमा बालेनले अपरान्ह १२ : ३४ बजे शपथ लिने

काठमाडाैं । देशले आज नयाँ प्रधानमन्त्री पाउदै छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी  गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको छ । शपथ समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ ।

शपथ समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ । शपथपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदभार सम्हाल्ने तय भएको रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । रास्वपाले बिहीबार नै उहाँलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ । रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ ।

Leave a Reply