सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग

काठमाडाैं । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।

सरकारले कानूनी रुपमा भूमीहीन, अव्यवस्थित, सुकम्वासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ । अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्वासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताउनुभयो ।

त्यसअघि काठमाडांैको सिफलमा र भक्तपुरमा रहेको सुकुम्वासी बस्तीमा पनि डोजर चलाइएको उहाँको भनाई छ । उहाँले वर्तमान सरकारलाई निर्वाचन बाहेक अरु काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउने आवश्यकता किन पर्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुकम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ती जनाउनुभयो ।

संघका नेता प्रकाश खरेलले सुकुम्वासीलाई अतिक्रमणकारी भनेर खेद्ने काम भइरहेको बताउनु भयो । वर्षौंदेखि सरकारी, ऐलानी जग्गामा बसोवास गरिरहेकाहरुलाई राज्यले अव्यवस्थित बसोवासी भनेको उहाँको भनाइ छ । उनीहरुलाई व्यवस्थापन गर्नुपर्नेमा अनाहकमा डोजर लगाइने काम भएको उहाँको गुनासो छ । उहाँले अव्यवस्थित बस्तीमा दोजर लगाउने काम तत्काल बन्द गर्न र भूमीहिनहरुले पाउनुपर्ने हकको सुनिश्चित गर्न माग गर्नुभयो ।

धापासी सुकुम्वासी बस्तीका पीडित दलबहादुर खड्काले झुक्याएर बस्तीमा डोजर चलाइएको आरोप लगाउनुभयो । उहाँले चैत ८ गते वडाध्यक्षले भाडामा लगाएको घर भत्काइने भनेर सूचना जारी गरेर चैत ९ गते आफूहरुको बस्तीमा पनि डोजर चलाइएको बताउनु भयो । उहाँकाअनुसार बस्तीमुनी वडाध्यक्षले १५ वटा सटर बनाएर भाडामा लगाएका थिए । उहाँले धापासीमा २०६० सालदेखि बस्दै आएको र लालपूर्जाको लागि भूमी आयोगमा पत्र पनि पठाइसकेका जानकारी दिनुभयो ।

संघले क्रान्तिकारी भूमिसुधार लागू गर्न, भूमीहीन नागरिकलाई आवास उपलब्ध गराउन, डोजर आतंक तत्काल बन्द गर्न, भूमी समस्या समाधानको लागि कानून संशोधन गर्न, लालपूर्जा वितरण कार्यलाई तिब्रता दिन माग गरेको छ ।

Leave a Reply