काठमाडौं, २ फागुन । एचआईभी एड्स संक्रमितहरुले गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बुधबार काठमाडौंमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले क्षयरोगका कारण पनि एचआईभी एड्स संक्रमितहरुको ज्यान जाने गरेकाले दुवै रोगको निदानका लागि एकीकृत कार्यक्रम संचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
एचआईभी एड्स संक्रमितहरुलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारसँग माग गरिएको राष्ट्रिय एचआईभी एड्स महासंघका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए ।
नेपालमा करिव १५ हजार एचआईभी एड्स संक्रमितहरु गुणस्तरीय सेवाको अभाव छटपटाई रहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । महासंघले एचआईभी एड्स संक्रमितहरुको उपचारमा सहभागी हुन सबै स्थानीय तहसँग पनि आग्रह गर्दै आएको छ ।