उम्मेदवारको सूची सच्याउन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनील महर्जन,
काठमाडौं,२ फागुन । निर्वाचन आयोगले तीनवटा दलहरूले बुझाएको प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूची सच्याएर पठाउन पत्राचार गरेको छ।

आयोगले नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीले बुझाएको उम्मेदवारको सूची यसअघि बुझाएको उम्मेदवारको बन्दसूचीको क्रम संख्या नाघेको, समावेशी समूहको प्राथमिकता क्रम नमिलेको भन्दै सच्याउन पत्राचार गरेको हो। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ ले उम्मेदवार छनोटमा क्रम संख्या नमिच्न दलहरूलाई सचेत गराएको छ।

सोही निर्देशिकामा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई सोबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पेस गर्नुपर्ने प्रावधानअनुसार सो पत्राचार गरेको थियो। आयोगका अनुसार सच्याएर उम्मेदवारको नाम बुझाउन ती दलहरूलाई दुई दिनको समय दिइएको छ।

दलहरूलाई नाम सच्याएर आयोगमा बुझाउन दुई दिनको समय दिइएको आयोगका प्रवक्ता नवराज ढकाल नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। आयोगका अनुसार आज बुधबार साँझ ५ बजेभित्रै सूची बुझाउनुपर्नेछ। दलहरूको त्रुटीले प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन थप दुई दिन ढिलाइ हुने भएको छ।

आयोगका अनुसार नेपाली कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट दुई जनाको नाम राखेर बुझाएको छ। कांग्रेस र राजपाको भन्दा माओवादी केन्द्रले बुझाएको सूचीमा धेरै त्रुटी पाइएको छ। पिछडिएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व गराउन, खसआर्यबाट ५ जनाको नाम बुझाउनुपर्नेमा ६ जनाको नाम बुझाइएकाले एकजना घटाउन र मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम रहेकाले एक जना थप्न आयोगले माओवादीलाई भनेको छ।

माओवादीको यसअघि बुझाएको बन्द सूचीमा सत्या पहाडीको नाम खस आर्यको सूचीमा छ। तर सोमबार सूची बुझाउँदा पहाडीलाई पिछडिएको क्षेत्रमा राखेर बुझाइएको छ। आयोगले त्यसलाई अस्वीकार गर्दै सच्याउन भनेको छ। त्यसैगरी माओवादीको प्रारम्भिक सूचीमा जनमुक्ति पार्टीका नेता प्रेमबहादुर सिंहको नाम पिछडिएको क्षेत्रको पहिलो नम्बरमा छ। प्रेमबहादुर सिंह माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्नुभएको थियो। यसैगरी मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा इन्दु शर्मा, दोस्रो नम्बरमा बोधमाया यादव गरी २ जनाको नाम मात्रै माओवादीले सोमबार बुझाएको थियो। त्यसलाई अस्वीकार गर्दै आयोगले सच्याउन भनेको बुझिएको छ। माओवादीले बुझाएको उम्मेदवारको बन्दसूचीमा मधेसी महिलाको पहिलो नम्बरमा इन्दु शर्मा, दोस्रो नम्बरमा बोधमाया यादव र तेस्रो नम्बरमा दिल कुमारीको नाम रहेको छ।

आयोगले गरेको पत्राचारमा राजपाले खसआर्यबाट दुई जना महिलाको नाम पठाउनुपर्नेमा प्राथमिकताको क्रम नमिलेकाले सच्याएर पठाउन भनेको छ। सो दलको बन्द सूचीमा खर्स आर्य समूहको एक नम्बरमा नरमाया ढकालको नाम भए पनि राजपाले सोमबार बुझाएको सूचीमा ढकालको नाम हटाएर दोस्रो र तेस्रो नम्बरमा रहेका व्यक्तिहरूको नाम उल्लेख छ। दलहरूले सच्याएर सूची बुझाउनासाथ प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ । आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);