एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त ष्ट्र संघको शान्ति रामिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही समूहका नेताहरूसँग भेट गरी युद्धविराम अनुगमन संयन्त्रबारे छलफल गर्नुभएको छ । सन् २०२५ को जनवरीमा विद्रोही समूहले गोमा शहर कब्जा गरेपछि सुरक्षा अवस्था बिग्रिएकै अवस्थामा भान डे पेरे हेलिकप्टरमार्फत त्यहाँ पुग्नुभएको हो ।
उहाँको यो भ्रमण क्षेत्रीय शान्ति संरचना अन्तर्गत परिकल्पना गरिएको युद्धविराम अनुगमन र प्रमाणीकरण संयन्त्रलाई सक्रिय बनाउने प्रयासको एक हिस्सा हो । विद्रोही समूहसँग आवद्ध राजनीतिक–सैनिक गठबन्धन कङ्गो रिभर एलायन्सका नेता कोर्नेइल नाङ्गासँगको वार्तापछि पेरेले दोहा प्रक्रिया अन्तर्गत हस्ताक्षर गरिएको सम्झौता बमोजिम युद्धविरामलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मोनुस्कोले सुरक्षा परिषद्को प्रश्ताव, २८०८ बमोजिम स्थायी युद्धविरामका लागि प्राविधिक र प्रमाणीकरण सहयोग उपलब्ध गराउने म्यान्डेट पाएको उल्लेख गर्नुभयो । एम२३ का वरिष्ठ अधिकारी बेन्जामिन एमबोनिम्पाले संयुक्त राष्ट्र संघको भुमिकाको स्वागत गर्दै विद्रोही नियन्त्रित क्षेत्रमा राष्ट्र संघका कर्मचारीहरूलाई पूर्ण सुरक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसैबीच, मध्यस्थकर्ता मुलुक अङ्गोलाले फेब्रुअरी १८ देखि लागू हुनेगरी प्रश्ताव गरेको युद्धविरामलाई कङ्गो सरकारले स्वीकार गरेको छ । यद्यपि एम २३ ले भने आफूहरूलाई यसबारे आधिकारिक जानकारी नभएको दाबी गरेको छ ।





