काठमाडाैं । बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको हो ।
बिहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएकामा थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का बिसनदत्त जोशी, दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी छन् ।
यसैगरी, बझाङको केदारस्यु गाउँपालिका केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का सुशील जोशीको पनि मृत्यु भएको छ । मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का केशवराज जोशी, अशोकराज जोशी, बसन्त जोशी, विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी पनि छन् ।
बझाङकै केदारस्यु गाउँपालिकाका मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि बस दुर्घटनामा ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । प्रहरीले बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।





