पछिल्लो चौबिस घण्टामा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पछिल्लो चौबिस घण्टामा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुले ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर सोमबार अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनक राज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्र प्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीस्थित सडकमा मे.१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–८ बस्ने २४ वर्षीय मनिष बिक र शहिदनगर नगरपालिका–१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन् । 

ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका–२ सुकौरास्थित सडकमा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको छ । 

ईलामको इलाम नगरपालिका–१० घट्टास्थित सडकमा ना.४ ख ६२४८ नम्बरको बस सोमबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार बारा सिम्राहागण नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रदिप कुसुवाह रहेका छन् । गाडीले च्याप्पीएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ललितपुरको ललितपुर महानगरपालिका–१५ एन्फा नजिक सडकमा प्रदेश ३–०१–०२४ च ४१४७ नम्बरको गाडी मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार माहांकाल गाउँपालिका–३ गोटिखेल घर भएका ६६ वर्षीय सन्त प्रसाद तिमल्सिना रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ताजेस्थित निर्माणाधिन सुपरदोर्दी हाईड्रोपावर सुरुङभित्र जाँदै गरेको मसला बोक्ने गाडीमा फलामको रड अचानक खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक चितवन मेघौली बस्ने ३६ वर्षीय ईश्वर पुलामी मगर रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);