सुदूरपश्चिम र कर्णालीमा हिमपातसहित वर्षा | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

सुदूरपश्चिम र कर्णालीमा हिमपातसहित वर्षा

काठमाडाैं । पश्चिम क्षेत्रका हुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार बेलुकादेखि नै हिमपात भएको हो ।

त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । ती क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने स्थानीय किसानहरुको विश्वास छ । यस्तै बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा ठूलो हिमपात भएको छ । गएरातिदेखि बाक्लो हिउँ परेको हो ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

मौसमविदका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय सबैतिर हल्का वर्षा हुने सम्भावना छ । आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुनेछ ।

Leave a Reply