काठमाडाैं । नेपाली घरेलु फुटबल सबैभन्दा सफल क्लब मनाङ मस्र्याङ्दीले राष्ट्रिय लिगमा लज्जास्पद हार बेहोरेको दिन पहिलोपल्ट ठूलो प्रतियोगिता खेलेको चित्लाङ एफसीका लागि सुखद् बन्यो । सर्वाधिक आठ पल्ट शिर्ष डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दीले राष्ट्रिय लिगमा खराब नतिजा सामना गरेको हो । क्लव व्यवस्थापनको आन्तरिक विवादका कारण एक समय चर्चित र सफल क्लब मनाङले पछिल्ला समय मोफसलका प्रतियोगिता पनि खेलेका थिएन । तेस्रो भएको राष्ट्रिय लिग खेलेको मनाङ शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि ५–० को लज्जास्पद हार व्यहोर्न बाध्य भयो । यससँगै क्लबभित्रको आन्तरिक विवादको असर प्रतियोगितामा पनि परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ युवा खेलाडीको साथमा उत्रिएको थियो । एक समय मनाङबाट राष्ट्रिय टोलीका स्टारहरू हुने गर्थे ।
राष्ट्रिय लिगमा मनाङले त्यो छबिलाई कायम राख्न सकेन । तर, तीन जना विदेशी खेलाडीको साथ पाए पनि मनाङले कमजोर प्रदर्शन ग¥यो । मनाङ फराकिलो अन्तरको हार टार्न असफल भयो । आर्मीमा राष्ट्रिय टोली र नेपालको विभिन्न उमेरसमूहबाट खेलेका स्टार खेलाडीले खेलेका थिए । सोहीअनुरूप आर्मी मनाङमाथि पूर्ण हाबी पनि भयो । आर्मीको जितमा युवा खेलाडी निराजन धामीले दुई गोल गरे । नवीन लामा, नवयुग श्रेष्ठ र कप्तान जिलेस्पीजंग कार्कीले समान एक गोल गरे । आर्मीले पहिलो हाफमा दुई गोल गोल गरेको थियो । दोस्रो हाफमा थप आक्रामक बन्दै आर्मीले तीन गोल थप्यो । खेलको १५औं मिनेटमा नै नवीनको पेनाल्टी गोलबाट आर्मीले अग्रता लियो ।
युवा स्ट्राइकर नीराजनले ३४औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । पहिलो हाफमा थप गोल हुन सकेन । अनुभवी खेलाडी नवयुगले ६७औं मिनेटमा आर्मीका लागि गोल थपे । ७७औं मिनेटमा निराजनले व्यक्तिगत दोस्रो गोल पूरा गरे । इन्जुरी समयमा कप्तान जिलेस्पीजंग कार्कीले गोल थप्दै आर्मीलाई ५–० को जित दिलाए । यससँगै झन्डै दुई वर्षपछि घरेलु प्रतियोगितामा फर्किएको मनाङले हारबाट राष्ट्रिय लिगको यात्रा सुरु गरेको छ । पहिलोपल्ट घरेलु प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्पर्धा गरेको चित्लाङ एफसीले सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङले शनिबार नव जनजागृति युवा क्लबमाथि २–१ को जित निकाल्यो । चित्लाङको दुवै गोल विदेशी खेलाडी म्याथ्यु ओलानरेवाजु र सोलोमन इलेसानमीले गरेका हुन् । एन्फा एकेडेमीका पहिलो ब्याजका खेलाडी प्रज्वल प्रताप क्षेत्रीको प्रशिक्षणमा रहेको चित्लाङले पहिलो खेलमा नै तीन अंक बटुल्यो । दुवै हाफमा चित्लाङले समान एक गोल गरेको हो । २८औं मिनेटमा म्याथ्युले गोल गर्दै अग्रता दिलाए । तर, आठ मिनेटपछि नै नव जनजागृतिले खेलमा फर्कियो । उदित नारायण चौधरीले गोल फर्काउँदै नव जनजागृतिलाई खेलमा फर्काए ।
तर, दोस्रो हाफमा चित्लाङले दोस्रो गोल ग¥यो । सोलोमन ६२औं मिनेटमा गोल गरे । यो गोल नै चित्लाङको जितमा पर्याप्त बन्यो । चित्लाङ केही महिनाअगाडि हेटौडामा सम्पन्न एन्फा प्रेसिडेन्ट लिगको उपविजेताको रूपमा राष्ट्रिय लिगमा छनोट भएको हो । शहीद स्मारक ‘ए’ डिभिजन लिगका १४ मध्ये १३ क्लव र प्रेसिडेन्ट लिगबाट छनोट भएका चार गरी कुल १७ क्लवले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।





