काठमाडाैं । व्यवसायीहरुले फिनटेकसम्बन्धि कानून निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन् । ललितपुरमा नेपालमा पहिलो पटक शुरु गरिएको नेपाल फिनटेक एक्स्पोमा सहभागी भएका व्यवसायीहरुले सो माग गरेको हुन् ।
उनीहरुले फिनटेक सम्बन्धि प्रविधि भित्र्याउने विषयमा पनि ठोस नीति तत्काल बनाउन पनि सरकारलाई सचेत गराएका छन् । व्यवसायी देवेन्द्र खड्काले उपभोक्ताको हित हुनेगरी सरकारले फिनटेक सम्बन्धि कानूनी र नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने पनि सरकारले सहजीकरणको भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
व्यवसायी राजनराज पन्तले नेपाली प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि सरकारले आवश्यक वातावरण बनाउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालका प्रविधि सम्बन्धि व्यवसायीहरुलाई पनि सरकारले प्रोत्साहित हुने खालको नीतिगत व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो ।
एक्स्पोमा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिएका छन् ।





