दोस्रो संस्करणको एभरेस्ट समिट आगामी जेठमा गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

दोस्रो संस्करणको एभरेस्ट समिट आगामी जेठमा गर्ने तयारी

काठमाडाैं । एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणको एभरेस्ट समिटियर्स समिट आयोजना गर्ने घोषणा गरेको छ ।
एभरेस्ट एलायन्सले  पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे २७ मा (२०८३ जेठ १३ गते)  काठमाडौंमा समिट गर्न लागेको जानकारी दिएको हो ।

समिट तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरणमा समर्पित रहने एभरेस्ट एलायन्स नेपालकी अध्यक्ष श्रद्धा क्षेत्रीले बताउनुभयो । दिगो भविष्यको लागि हिमालयन इनोभेसन भन्ने नाराका आयोजना हुने समिटमा विश्वभरका सगरमाथा आरोही, नीति निर्माता, पर्वतारोहण संस्थाका प्रतिनिधि, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ ।

समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोहीको सुरक्षा, जलवायु परिवर्तन, दिगो हिमाली पर्यटन तथा भविष्यका चुनौतीबारे उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । समिटलाई केवल स्मरण समारोहमा सिमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको विकासमा केन्द्रित गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष क्षेत्रीका अनुसार समिटमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको समृद्धि, अभियान सुरक्षा तथा पर्वतारोहणसम्बन्धी नीतिगत सुधार जस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त विषयमा छलफल गरिनेछ । समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन् । एभरेस्ट एलायन्स नेपालले समिटलाई मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । समिटलाई सफल बनाउन सहकार्य गर्न आयोजकले आह्वान समेत गरेको छ । समिटमा सहभागिताका दर्ता प्रक्रिया खुला गरिएको जानकारी पनि दिइएको छ ।

Leave a Reply