एजेन्सी । भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जलसम्बन्धी स्वतन्त्रता र व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ । क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले नियन्त्रणमा लिएपछि यो कदम चालिएको हो ।
नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले मतदानपछि समुन्द्री डकैती, नाकाबन्दी र अन्य अन्तर्राष्ट्रिय अवैध कार्यहरू विरुद्ध जलयात्रा र वाणिज्यको स्वतन्त्रता सुनिश्चित गर्ने कानून पारित भएको घोषणा गर्नुभयो । यो कानून एक विशेष सत्र र आकस्मिक प्रक्रिया अन्तर्गत पारित गरिएको हो ।
यस कानूनमा समुन्द्री डकैती वा नाकाबन्दीलाई प्रोत्साहन गर्ने वा लगानी गर्ने जोकोहीलाई २० वर्षसम्मको जेल सजाय हुने प्रावधान राखिएको छ । अधिकारीहरूले अमेरिकी खतराको रूपमा व्याख्या गरेका गतिविधिहरूबाट भेनेजुएलाको व्यावसायिक र राजनीतिक सम्बन्धलाई सुरक्षित राख्नु यस कानूनको मुख्य लक्ष्य हो ।
राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय सार्वभौमसत्ताको रक्षाको प्रयास स्वरूप प्रश्ताव गरेको यस विधेयकलाई सोमवार नेशनल एसेम्बलीले पहिलो चरणमा अनुमोदन गरेको थियो ।





