काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो ।
‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भन्नुभयो ।
उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको हो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिनु भएको छ । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नु भएको छ ।
उहाँले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताउनुभयो ।
नेपालको गौरवमय इतिहास बोकेको गोरखापत्रको शताब्दी रजत र दी राइजिङ नेपाल ६१ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनु हुँदै यस्तो बताउनु भएको हो ।
गोरखापत्र ऐकेडेमी सञ्चालनमा ल्याएको बहसले मुलुकको समग्र अर्थतन्त्रलाई सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षामा समन्वय गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नु भएको छ ।
जेनजी आन्दोलनपछि अर्थतन्त्रमा महत्त्वपूर्ण निचोडका लागि सहकार्यको आवश्यकता देखिएको समयमा यो कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास उहाँको छ ।





