काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तरराष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताउनुभएको छ । मंगलवार जेन–जी शहीदहरुको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।
उहाँले जेन–जी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताउनु भयो । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेन–जी विद्रोह भएको उहाँको तर्क छ । उहाँले शहीदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको बताउनु ।
उहाँले मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गर्नुभयो । उहाँले जेन–जी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने जिकिर गर्नुभयो ।
उहाँले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गर्नुभयो । उहाँले पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको पनि बताउनुभयो ।





