काठमाडाैं । नेपालमा विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउने भएको छ । विश्व मौसम संगठनको सहयोगमा मौसम विज्ञान विभागले ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनका लागि तयारी शुरु गरेको हो ।
विपद् सम्बन्धी जुनसुकै सूचना प्रवाहका लागि अब विभागले एकीकृत सञ्चार माध्यम ‘कमन अलर्टिङ प्रोटोकल’ विधि अपनाउने भएको छ । यसका लागि विभागले यस क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ विनोद पराजुलीले विभिन्न माध्यमबाट छुट्टाछुट्टै रूपमा जानकारी प्रवाह हुँदै आएको वर्तमान संरचनाले विपद्को सूचनामा एकरूपता कायम गर्न कठिनाइ भएकोले कमन अलर्टिङ प्रणालीको आवश्यक रहेकोे बताउनुभयो । देशभर फैलिएका सूचना–प्रवाहका माध्यमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकतालाई मनन गर्दे विभागले अब सबै पूर्वचेतावनीलाई एउटै प्लेटफर्मबाट प्रवाह गर्ने तयारी शुरु गर्न लागेको बताउनुभयो ।
जलवायु तथा विपद् विज्ञ धर्मराज उप्रेतीले नेपालमा जलवायुजन्य जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै जोखिममा सूचना प्रशारणको चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो । विश्वको धेरै राष्ट्रहरुमा यो कमन अलर्टिङ प्रणाली लागू भइसकेको बताउदै उहाँले नेपालमा पनि यसको विकासक्रम जारी रहेको बताउनुभयो । उहाँले नेपालमा हरेक वर्ष बाढी, पहिरो, आँधी–हुरी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दो अवस्थामा रहेको भन्दै यस प्रणालीको विकासले राष्ट्रिय पूर्वसूचना संरचनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा देशभर प्रयोग गर्ने चेतावनी प्रणालीलाई एउटै ढाँचामा ल्याउने, सूचनाको समयानुकूल प्रशारण गर्ने तथा विपद् जोखिमबाट जनजीवन र सम्पतीको सुरक्षा प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ ।





