मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्यो ? | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्यो ?

काठमाडाैं ।  गत वर्ष जस्तै यस वर्ष पनि मनसुनको अन्त्यतिरको भारी वर्षाका कारण काठमाडाैंलगायत मधेस र कोशी प्रदेशका जिल्लाहरुमा ठूलो जनधनको क्षति भयो । मनसुन बाहिरिने समयमा लगातार दुई वर्ष उही समय र उही प्रकृतिको वर्षाको कारण मुलुकले डुबान, बाढी र पहिरोको सामना गर्नुपर्यो । गत वर्ष जस्तै यस वर्ष पनि मौसम पूर्वानुमानको प्रक्षेपण झन्डै एक साता अघिदेखि नै गरिएको थियो ।

सम्भावित क्षति न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग लगायत सरकारका संयन्त्रहरुको सक्रियता प्रभावकारी देखियो । यस पटक समग्र विपद् व्यवस्थापनमा सरकारका निकायहरुको समन्वय र सहकार्य एकीकृत देखिएको थियो । विपद्पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताको प्रशंसा भइरहेको छ ।

यद्यपि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार काठमाडाैंंमा वर्षा नभएको र इलाममा पूर्वानुमान भन्दा बढी वर्षा भएर ठूलो मानवीय क्षति भएको सन्दर्भलाई लिएर विभागको पूर्वानुमानमा प्रश्न गरिएको छ । यस सम्बन्धमा विभागले वर्षा गराउने प्रणालीको विस्तृत अध्ययन पछि मात्रै भन्न सकिने बताएको छ ।

त्रिभूवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलले पानी पार्ने प्रणाली काठमाडौंबाट छिटो मुभ भएका कारण प्रक्षेपण गरे भन्दा कम वर्षा भएको बताउनु भयो । त्यसैगरी इलाममा पनि विभागको फोरकास्टमा ३ घण्टाको फरक देखिएको बताउनु भयो ।

जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागले निकालेको तीनदिने मौसम पूर्वानुमान सटिक भएको भएपनि तीन घण्टाअघि नै मौसमी प्रणाली मध्य नेपालबाट पूर्वतिर सरेको बताउनु भयो । मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिले काहीँ पूर्वानुमान सही नहुने तथा केही तलमाथि पर्नसक्ने उहाँको भनाइ थियो । डाक्टर सिग्देलकाअनुसार विभागले शनिवार, आईतवार र सोमवारको फोरकास्टिङ सार्वजनिक गरेको थियो । उक्त बुलेटिङअनुसार शनिवार काठमाडौंसहितका क्षेत्रमा वर्षा हुने र आईतवार बिहान मात्र मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

डाक्टर सिग्देलले शनिवारदेखि आईतवारसम्म रौतहटको गौर, महेशपुर तथा वीरगञ्ज लगायत क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको बताउनुभयो । न्युज एजेन्जी नेपालसँग कुराकानी गर्दै उहाँले यस पटकको वर्षा प्रणाली ‘डिप्रेशन सिस्टम’मा विकसित भएको साइक्लोनिक सर्कुलेसनसँग सम्बन्धित रहेको उल्लेख गर्दै सो प्रणाली बलियो भएकाले लगातार वर्षा भएको बताउनुभयो । उहाँले तल्लो तह (लोअर लेभल)मा आवश्यक परिमाणको आपूर्ति मध्यम मात्र भएकाले प्रणाली लामो समय स्थिर रहन नसकेको कारण विभागले प्रक्षेपण गरे भन्दा अगाडि नै मौसमी प्रणाली पूर्वी क्षेत्रमा सिफ्ट भएको बताउनुभयो ।

डेढ किलोमिटर माथिको हावाको तह (लोअर लेभल जेड)मा सुख्खा र चिसो हावाको प्रभाव परेकाले प्रणाली अपेक्षाभन्दा चाँडै पूर्वतिर सरेको उहाँको भनाइ छ । उहाँले मौसमी प्रणालीको निरन्तर निगरानी गरेर सूचनाहरु दिने कार्य भइरहे पनि शनिवार मध्यराति मात्र प्रणाली पूर्व सरेको कारण समयमै सूचना सम्प्रेषण हुन नदेखिएको टिप्पणी गर्नुभयो ।

वार्मर मोइस्चर र कुल ड्राइ एअर आपसमा ठोक्किँदा प्रणाली छिट्टै सरेका कारण विभागको पूर्वानुमानमा थोरै समय फरक परेको र त्यसले विपद् व्यवस्थापनको तयारीमा समेत असर परेको उहाँको भनाइ छ ।

जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागको रियल–टाइम अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ऋतुगत मौसम पूर्वानुमान (सिजनल फोरकास्टिङ) स्टाटेस्टिकल, डायनामिकल र हाइब्रिड विधिमा गर्ने विश्वव्यापी प्रचलन छ ।

नेपालमा स्टाटिस्टिकल मोडेल प्रयोग हुँदै आएको छ । मौसम विज्ञान विभागले ६/६ घण्टामा मौसम पुर्वानुमानको बुलेटिन निकाल्दै आएको छ । इलामको घटनाबाट गणीतिय मौसम पुर्वानुमान पद्धतिलाई छोटो अवधिमा नै अपडेट गर्नुपर्ने आवश्यकता देखाएको छ । भविष्यमा यो पुर्वानुमानको पद्धतिलाई छोटो बनाउन नसक्ने हो भने छिटफुट यस्ता घटनाका कारण विभागको सूचनामाथिको विश्वसनीयतामा प्रभाव पार्ने देखिन्छ ।

 

Leave a Reply